नयाँ पत्रिका

विराटनगर, ४ वैशाख । तेस्रो मुलुकबाट भित्रिएको ३३ केजी सुन गायब प्रकरणमा पञ्चायतकालदेखिका अवैध कारोबारीहरू संलग्न रहेको पाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार हालसम्म तीनजनाको ज्यान गुमिसकेको उक्त प्रकरणमा पञ्चायतकालदेखि अवैध सुन कारोबारमा संलग्नहरूको मुख्य संलग्नता पाइएको छ ।

Advertisement

भारतीय नागरिकसमेत रहेका एमके भनिने मोहनकुमार अग्रवाललगायत एक दर्जनभन्दा बढी व्यक्ति पञ्चायतकालदेखि नै सेटिङमा सुन तस्करीमा संलग्न रहेको र उनीहरूले सञ्जाल विस्तार गरेको अनुसन्धानबाट खुलेको छ । उक्त गिरोहको सञ्चालन भत्काउन सूक्ष्म अनुसन्धानमा लागेको गृह मन्त्रालयको भनाइ छ ।

३३ केजी सुन गायब भएको रहस्यमय घटनामा १८ फागुनमा मोरङ उर्लाबारी नगरपालिका ७ का युवा समन शाक्यको सुन पत्ता लगाउने क्रममा गिरोहले जंगलमा करेन्ट लगाएर निर्ममतापूर्वक हत्या गरेका थिए । त्यसपछि उक्त घटनामा संलग्न भनिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लोडर प्रेमलाल चौधरी र अर्का व्यक्तिको पनि रहस्यमय मृत्यु भएको थियो ।

मोरङ प्रहरीले गृह मन्त्रालयको निर्देशनमा ३८ जनालाई सनम हत्या संगठित आरोपमा मोरङ अदालतमा मुद्दा दर्ता गराएको छ । जसमध्ये १७ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । बाँकी २१ जना भने अझै फरार छन् । फरार हुनेमा मुख्य आरोपी अग्रवालसहित पूर्वका अवैध सुन कारोबारमा संलग्न छन् ।

३३ केजी सुन गायब प्रकरणले झन अपराध बढाएको र रहस्य पेचिलो बन्दै गएपछि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान समिति खटाएको थियो । उक्त टोलीको अनुसन्धान प्रतिवेदनअनुसार घटनामा पञ्चायतकालदेखिका सुन माफियाहरू संलग्न रहेको खुलेको थियो । अनुसन्धानको नेतृत्व गरिरहेका पौडेलले गहन अनुसन्धान चलिरहेकाले अहिले नै जानकारी दिन नमिल्ने बताए ।

१८ फागुनमा सुन तस्करीका भरिया भनिएका उर्लाबारीका सनम शाक्यको शव विराटनगर–३ मा बा २ च ५९६३ नम्बरको स्कारपियोभित्र फेला परेको थियो । त्यसपछि मोरङ प्रहरीले जिपचालक काभ्रेका टेकराज मल्ल ठकुरी तथा उर्लाबारीका मोहन काफ्ले र नरेन्द्र कार्कीलाई नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान थालेको थियो ।

सनम हत्या काण्डमा संलग्न भनिएका ३८ जना आरोपीहरूको सबै सम्पत्ति प्रहरीले रोक्का गरेको छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गराउने तयारी पनि छ । प्रहरीको निवेदनअनुसार मोरङ अदालतले २६ चैतमै संगठित अपराध निवारण ऐन ०७० को दफा १६ अनुसार आरोपीहरू सबैको बैंक खाता, जग्गालगायत सम्पत्ति रोक्का गर्न अनुमति दिइसकेको छ ।

यी हुन् सम्पत्ति रोक्का हुनेहरू
प्रहरीले चाचाजी भन्ने महावीर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर र राजु महर्जनलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, र माधव भनिने मदनप्रसाद घिमिरे पनि हिरासतमा छन् । जिल्ला अदालत मोरङबाट उनीहरूमध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागु हुने गरी १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनीहरूको सम्पत्ति रोक्का भएको छ ।

प्रहरीको खोजी सूचीमा रहेका चुणमणी उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरू), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (भविन तामाङ), कमल कार्की, संदीप खडका, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोबार रोक्का भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!