कृष्ण कट्टेल

काठमाडौं, २१ चैत। प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमाणका एजेन्डाबारे संसद्लाई जानकारी गराएका छन् । उनले भारत भ्रमणमा देशको शिर निहुरिने कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाए । २३ चैतदेखि हुने भारतको तीनदिने राजकीय भ्रमणबारे मंगलबार संसद्लाई सम्बोधन गर्दै उनले देशलाई अप्ठ्यारो पर्ने र लज्जाबोध हुने कुनै सम्झौता नगर्ने बताएका हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीले नयाँ सम्झौतामा जोड नदिनेसमेत बताएका छन् । नयाँभन्दा पुराना सम्झौता कार्यान्वयनमै जोड दिने बताए । उनले भने, ‘भारत भ्रमणको क्रममा नयाँ सम्झौताको चाङ लगाउने पक्षमा म छैन । पुराना सम्झौता कार्यान्वयन र दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउनेबारे छलफल हुनेछ ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई छुट्टाछुट्टै सम्बोधन गरेका हुन् । प्रतिनिधिसभामा ५० र राष्ट्रिय सभामा ३० मिनेट सम्बोधन गरे । प्रधानमन्त्री ओलीले रेलमार्ग, ऊर्जा, पर्यटन, कृषि, सीमामा हुने आपराधिक घटना न्यूनीकरण, हुलाकी राजमार्ग निर्माण, बाढी तथा डुबानको समस्या, पारवहन, भूकम्पपछिको पुनर्निर्माणमा भारतीय प्रतिबद्धता कार्यान्वयनलगायत विषयमा भारतसँग छलफल गर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको श्वेतपत्र निराशापत्र नभई यथार्थपत्र भएको जवाफ दिए । प्रमुख विपक्षी दलका नेताको आरोपपछि प्रधानमन्त्रीले जवाफ दिए, ‘यस यथार्थपत्रमा कसैप्रति आग्रह, पूर्वाग्रह, झुटा तथ्य तथ्यांक केही छैन ।’

संघीय संसद्को पहिलो अधिवेशन अन्त्य
प्रारम्भ भएको एक महिना नबित्दै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य भएको छ । २१ फागुनमा सुरु भएको पहिलो अधिवेशन सरकारले बिजनेस नल्याएपछि अन्त्य भएको हो । मंगलबार बसेको पहिलो अधिवेशनको अन्तिम बैठकले राष्ट्रिय सभा अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मध्यरात १२ बजेबाट संघीय संसद्को अधिवेशन अन्त्य हुने व्यहोराको पत्र संसद्लाई पठाएकी थिइन् । उक्त पत्र सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मंगलबारका बैठकमा पढेर सुनाए । ३० दिन चलेको संघीय संसद्को पहिलो अधिवेशनमा ९ दिनमा प्रतिनिधिसभाका ११ बैठक बसे । प्रतिनिधिसभाले १५ घन्टा ३० मिनेट संसदीय काममा समय व्यतीत ग¥यो । राष्ट्रिय सभाको ९ दिनमा बसेका १० बैठकमा ७ घन्टा २० मिनेट समय व्यतीत भयो ।

वैशाखको तेस्रो साताभित्र वर्षे अधिवेशन
संघीय संसद्को वर्षे अधिवेशन नयाँ वर्षको पहिलो महिनाबाटै प्रारम्भ हुने भएको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्थाका कारण सरकारको नीति तथा कार्यक्रम प्रस्तुत एवं प्रिबजेटमाथि छलफल गर्नुपर्ने हुन्छ । यसकारण वैशाखको तेस्रो साताभित्र वर्षे अधिवेशन सुरु हुन सक्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भारत भ्रमणबारे के भने ?
– नेपाल र भारतबीच सदियौँदेखिको पुरानो र बहुआयामिक सम्बन्ध छ । यो मैत्रीपूर्ण सम्बन्ध कसैले बिगार्न खोज्यो भने पनि त्यो बिग्रिने स्थितिमा पुग्दैन । हाम्रा भावना स्पष्ट, मैत्रीपूर्ण ढंगले राख्यौँ भने सुन्न तयार हुनुपर्छ । हामी शंकारहित, अविश्वासरहित, भरपर्दो मित्र बनाउन चाहन्छौँ, विकास गर्न चाहन्छौँ । यस्तो सम्बन्ध बढाउँदै लाने यो सरकारको नीति छ ।

– सन् १९५० को सन्धि पुनरावलोकन गर्ने विषय उठाउनु पाप हो कि भन्ने कुनै समयमा गरिन्थ्यो । अहिले दुई देशका प्रबुद्ध समूहबीच छलफल भएर योलगायत सन्धि–सम्झौता पुनर्विचार गर्न दुवै पक्ष तयार भएका छौँ । मेरो भ्रमण दुवै देशका जनताको अधिकतम हितमा उपयोगी बनाउने, सम्बन्ध मजबुत बनाउने प्रयासमा रहनेछ ।

– यसअघि म प्रधानमन्त्री भएर भारत जाँदा नयाँ सम्झौतामा जोड दिइनँ । तर, दूरगामी सम्झौता भए । यसपटक पनि म नयाँ सम्झौताको चाङ लगाउने पक्षमा छैन । पुराना सम्झौता कार्यान्वयन र सम्बन्ध सुदृढ बनाउने पक्षमा हुनेछु ।

-कृषिको आधुनिकीकरण, जलमार्ग, रेलमार्ग हाम्रो प्राथमिकतामा छ । ऊर्जा उत्पादन, व्यापार सम्झौता, दुई देशबीचको केनेक्टिभिटी, हुलाकी राजमार्ग, सीमापार रेलमार्ग शीघ्र कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माणमा भारतले गरेका प्रतिबद्धता पूरा गराउन ध्यान जानेछ । भारतले जिम्मा लिएका पुनर्निर्माणको काममा ढिलाइ भएको भए गम्भीर छलफल हुनेछ । बाढी र डुबानको समस्या, पारवहन, पूर्वाधार विकास प्राथमिकताका विषय हुन् ।

कुन सभाले के काम गर्‍यो ?

प्रतिनिधिसभा
१. अन्तरिम कार्यविधि पारित
२. प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
३. सभामुख पदको निर्वाचन
४. उपसभामुख पदको निर्वाचन
५. प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
६. युएस बंगला विमान दुर्घटनामा विशेष प्रस्ताव र पूर्वसांसद खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित
७. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित

राष्ट्रिय सभा
१. अन्तरिम कार्यविधि पारित
२. राष्ट्रिय सभा नियमावली मस्यौदा समिति गठन
३. अध्यक्ष पदको निर्वाचन
४. उपाध्यक्ष पदको निर्वाचन
५. युएस बंगला विमान दुर्घटनामा विशेष प्रस्ताव र पूर्वसांसद खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित
६. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!