अभिनेत्री सञ्चिता लुइटेल भन्छिन्, ‘जब मैले पहिलोपटक आफ्ना बच्चाहरुलाई विद्यालयमा पुर्याएँ, म पनि उनीहरुसँगै बसें । खेलें । म चाहन्थें कि, मेरा बच्चाले आमाबाट अलग भएको महसुस नगरुन् ।
केही दिन आफ्ना बच्चाकै कक्षामा बसेर उनीहरुसँगै खेलेपछि विस्तारै उनीहरुलाई त्यही रमाउने बानी पर्यो । त्यस अवधिमा मैले आफ्नो बच्चालाई साथ त दिएँ नै, विद्यालयको वातावरण, पढाउने शैली, शिक्षक-शिक्षिकाको व्यवहार पनि थाहा पाएँ । विद्यालय बालमैत्री छ/छैन, कक्षा कोठाको वातावरण कस्तो छ भन्ने कुरा अध्ययन गरेपछि म ढुक्क भएँ ।’
नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । कति अभिभावकले पहिलोपटक आफ्ना बालबच्चा विद्यालय भर्ना गर्ने तरखर गरिरहेका छन् । यतिबेला अभिभावकलाई अन्योल हुन्छ, कस्तो विद्यालयमा भर्ना गर्न होला ?
यसका लागि केही कुराले भूमिका खेल्छ । जस्तो कि, अभिभावकको आर्थिक हैसियत, पायक पर्ने विद्यालय, शिक्षक/शिक्षिकासँगको आपसी सम्बन्ध, छिमेकीको सुझाव । यावत् कुराहरुबाटै निक्र्योल गर्न सकिन्छ कि कुन विद्यालयमा छोराछोरी पढाउने ।
अक्सर विद्यालय जाने उमेरका बालबालिकाले आफूले अध्ययन गरिरहेकै विद्यालयमा निरन्तरता दिन चाहन्छन् । तर, ती विद्यालय आफ्नो बच्चाका लागि अनुकुल नभएको अवस्थामा अभिभावकले विद्यालय परिवर्तन पनि गर्न सक्नुपर्छ ।
त्यस्तै, पहिलो पटक विद्यालय पठाउने तयारी गरेका बच्चाका लागि विद्यालय छनोट गर्दा केही कुरामा भने ख्याल गर्नैपर्छ ।
१. बच्चालाई कुन उमेरमा भर्ना गर्ने ?
खासगरी शहरी क्षेत्रमा धेरै पति-पत्नी कामकाजी छन् । उनीहरुसँग आफ्ना बच्चाको ख्याल राख्ने समय हुँदैन, त्यही भएर शिशु कक्षा वा प्ले गु्रपमा नै भर्ना गरिदिन्छन् । आमाबुबाको कार्यालय अवधिभर बच्चा त्यहीँ खेल्छन्, खान्छन् भन्ने उनीहरु ठान्छन् ।
कतिपय फुर्सदिला बाबुआमा पनि बच्चालाई सानै उमेरमा शिशु कक्षामा पुर्याउँछन् । छिमेकीको देखासेखीमा जतिसक्दो सानो उमेरमै बच्चालाई विद्यालय पठाउनुपर्छ भन्ने मान्यता व्यापक छ ।
हामीकहाँ २ वा अढाइ बर्षका बच्चालाई समेत विद्यालय भर्ना गरिदिन्छन्, जो आमाको काखमा खेल्ने उमेरमै हुन्छन् । आमाको न्यानो काखबाट छुटाएर विद्यालयको चिसो कोठामा पुर्याउँदा धेरै अभिभावकहरु मख्ख पर्दै भन्छन्- ‘मेरो त बच्चाले पढ्न थाल्यो ।’
तर, कलिला बच्चा, जो मानसिक र शारीरिक रुपले बिद्यालय जाने उमेरका हुँदैनन्, उनीहरुलाई विद्यालय भर्ना गर्नु सजायँ दिनु जस्तै हो । यसले उनीहरु चाँडै शिक्षित वा बौद्धिक हुने होइन, बरु मानसिक र शारीरिक वृद्धिमा असर पर्न सक्छ ।
जानकारहरुका अनुसार सानो उमेरका बच्चालाई घरमै अभिभावकले खेलाउने, सिकाउने हो । किनभने उनीहरुलाई यतिबेला आमाको ममतामयी स्पर्शको खाँचो हुन्छ । खासमा चार वा पाँच बर्षको उमेरपछि बच्चा पूर्वप्राथमिक शिक्षाका लागि तयार हुन्छन् ।
२. पूर्वतयारी
बच्चालाई पहिलो पटक विद्यालय पुर्याउनुअघि मानसिक रुपमा उनलाई तयार गर्नुपर्छ, ता कि उनले सहज महसुस गर्न सकुन् । घरको वातावरण र आमाबुवाको सामीप्यबाट एकैचोटि अलग गराउँदा उनीहरुमा मानसिक आघात पर्न सक्छ । त्यसैले उनीहरुमा बिद्यालयप्रति सकारात्मक भाव जगाइदिनुपर्छ ।
विद्यालय जानका लागि उनीहरु स्वंम प्रेरित हुनु राम्रो हो । विद्यालयमा पनि घरकै वातावरण पाउनुपर्छ, त्यस्तो महसुस गर्नुपर्छ ।
३. घर पायक
यदि बच्चाको उमेर पुगेको छ भने सम्भव भएसम्म र आफूलाई चित्तबुझ्दो विद्यालय भएको अवस्थामा घरपायक स्थानमै बच्चालाई भर्ना गरिदिनुपर्छ । यसले गर्दा बच्चालाई विद्यालय पुर्याउन र घर ल्याउन समस्या हुँदैन । साथै बच्चाको रेखदेख गर्न पनि सजिलो हुन्छ ।
घरभन्दा टाढाको विद्यालयमा भर्ना गर्दा बच्चालाई आउजाउ गर्न गाह्रो हुन्छ । विद्यालयको गाडीमा लामो यात्रा गर्नुपर्दा थकित हुन्छन् । सुरक्षाको दृष्टिले पनि यो सही हुन्न ।
४. विद्यालयको वातावरण
आफ्ना बच्चालाई त्यहीँ भर्ना गरिदिनुपर्छ, जहाँ उनीहरु रमाउन सक्छन् । र, कुनै किसिमको बाधा, अवरोध, दबाव, पीडा महसुस गर्न पर्दैन । शिक्षक-शिक्षिकाले पनि बच्चाको मनोविज्ञानअनुसार उपयुक्त व्यवहार गर्ने हुनुपर्छ । यसका लागि विद्यालयमा भर्ना गर्नुअघि अभिभावकले त्यहाँ वातावरण, शिक्षण विधि, सेवा सुविधा, भौतिक पूर्वाधार सबै हेर्नुपर्छ ।
कति विद्यालयका कोठा साँघुरा र चिसा हुन्छन् । पर्याप्त खेल्ने ठाँउ हुँदैन । त्यस्तो ठाउँ बच्चाका लागि उपयुक्त हुँदैन ।
५. आफ्नो बजेट
हामीमध्ये धेरैले आफ्ना बच्चाको शिक्षा-दिक्षाको लागि छुट्टै पैसा जोहो गरेका हुँदैनौं । त्यसैले हामी बच्चालाई भर्ना गर्नुअघि त्यसको शुल्कबारे जानकारी लिन्छौं र आफ्नो बजेट अनुसार शैक्षिक शुल्क मिल्दो भएको अवस्थामा नै उक्त विद्यालयमा भर्ना गरिन्छ ।
अरुको देखासेखीमा वा हौसिएर चर्को शुल्क लाग्ने विद्यालयमा भर्ना गर्नु ठीक हुन्न । आफ्नो बजेटअनुसार उचित विद्यालयमा भर्ना गरिदिनु उपयुक्त हुन्छ । किनभने चर्को शुल्क बुझाउँदैमा त्यहाँको शैक्षिक गुणस्तर राम्रो हुन्छ भन्ने छैन ।
कति विद्यालयले विभिन्न शीर्षकमा शुल्क असुल्छन् । त्यो शुल्क के प्रयोजनको लागि हो भन्ने कुरा बुझ्नुपर्छ ।
छोराछोरी विद्यालय जान थालेपछि के गर्ने ?
छोराछोरीलाई विद्यालयमा भर्ना गरेर मात्रै अभिभावकको दायित्व पूरा हुँदैन । त्यसपछि पनि उनीहरुले विद्यालयमाथि निगरानी राख्नुपर्छ, शिक्षक-शिक्षिकासँग सम्बन्ध विस्तार गर्नुपर्छ ।
सम्वन्ध विस्तार
आफ्ना छोराछोरीलाई पढाउने शिक्षक एवं प्रशासकसँग सम्वन्ध विस्तार गर्नुपर्छ । उनीहरुसँगको नियमित सम्पर्क र आत्मीय व्यवहारले सम्वन्ध विस्तारमा सहयोग मिल्छ । उनीहरुसँगको राम्रो सम्वन्धले आफ्ना छोराछोरीको पढाइमा टेवा पुग्छ ।
अवलोकन-मूल्यांकन
आफ्ना छोराछोरीले कसरी पढिरहेका छन्् भनेर नियमित अवलोकन-मूल्यांकन गर्नुपर्छ । पढाइएका कुरालाई आफ्ना छोराछोरीले कसरी ग्रहण गरिरहेका छन्, उसको व्यवहारमा कस्तो परिवर्तन आइरहेको छ भन्ने पनि बुझ्नुपर्छ ।
सहभागिता
विद्यालयमा बच्चा भर्ना गरिदिएपछि त्यससँगै अभिभावकले पनि आफ्नो सहभागिता बढाउनुपर्छ । विद्यालयमा हुने कुनैपनि गतिविधिमा आफ्ना बच्चालाई हौसला दिनका लागि उपस्थित हुनुपर्छ ।
यस्ता विद्यालयमा भर्ना नगरौं
– जुन विद्यालय घरभन्दा धेरै टाढा छ ।
– जुन विद्यालयमा पारिवारिक एवं वालमैत्री वातावरण छैन ।
– जुन विद्यालयका शिक्षक/शिक्षिका रुखो छन् ।
– जुन विद्यालय विद्यार्थीप्रति उत्तरदायी र जिम्मेवार छैन ।
– जुन विद्यालयमा रचनात्मक गतिविधि हुँदैन ।
– जुन विद्यालयमा पर्याप्त खेल मैदान, शैक्षिक सामग्री छैन ।
– जुन विद्यालयको शुल्क अनावश्यक चर्को छ ।
– जुन विद्यालयको शैक्षिक इतिहास राम्रो छैन ।- अनलाइनखवर