नयाँ पत्रिका

काठमाडौं, १३ चैत । लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार बन्द भएको छ । यो २०७२ पुस २७ गतेयताकै न्यून बिन्दु हो ।

धेरै दिन ओरालो लागेको बजार सोमबार सुधार हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । आइतबार अर्थमन्त्री डा.युवराज खतिवडाले विराटनगरमा दिएको अभिव्यक्तिले बजार पुनः घटेको लगानीकर्ताको भनाइ छ । खतिवडा गभर्नर हुँदा पनि सेयरबजारप्रति सकरात्मक थिएनन् । सोही कारण उनी अर्थमन्त्री भएदेखि नै लगानीकर्ताहरू त्रसित छन् ।

Advertisement

उनले दिएको अभिव्यक्तिले लगानीकर्ताको मनोबल थप खस्केको सेयरबजार लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए । ‘बजार घट्दा सामान्य लगानीकर्ता नै डुबेका छन् । यस्तो अवस्थामा पनि सरकार मौन रहनु गैरजिम्मेवारीपन हो,’ उनले भने, ‘तर, के गर्ने सुतेको मानिसलाई पनि उठाउन पो सकिन्छ । सर्वसाधारणको लगानीमा कसैले पनि खेलबाड गर्न मिल्दैन ।’

सरकारप्रति लगानीकर्ताको अपेक्षा उच्च हुनुले बजार घट्न सहयोग पुगेको इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । ‘निर्वाचनपश्चात् स्थायी सरकार बनेपछि बजारमा परिपक्क हुने आमलगानीकर्ताको बुझाइ थियो,’ उनले भने, ‘प्रधानमन्त्री केपी ओली बजारप्रति सकारात्मक देखिएकाले केही योजना आउने लगानीकर्ताले अपेक्षा गरेका थिए । तर, सोअनुसार काम नहुँदा लगानीकर्ता थप आहत भएका हुन् ।’

लगानीकर्ताले एकै दिन गुमाए ६१ अर्ब
नेप्से परिसूचक भारी अंकले घट्दा लगानीकर्ताले एकै दिन ६० अर्ब ७९ करोड गुमाएका छन् । अघिल्लो कारोबार दिन १४ खर्ब २९ अर्ब रहेको लगानीकर्ताको सम्पत्ति यस दिन घटेर १३ खर्ब ६८ अर्ब पुगेको छ । यो दुई वर्षयताकै कम बजार पुँजीकरण हो । २०७२ फागुन ५ गते लगानीकर्ताको सम्पत्ति १३ अर्ब ६३ अर्ब रहेको थियो । सर्वसाधारण सेयरधनीको स्वामित्वमा रहेको सेयर बजार पुँजीकरण (फ्लोट बजार पुँजीकरण) अघिल्लो दिनको तुलनामा रू. २० अर्ब ६९ करोड घटेको छ ।

सस्तियो सेयर मूल्य
सोमबार नेप्सेमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य अधिक सस्तिएको छ । यस दिनको अन्तिम बजार मूल्यका आधारमा ४४ कम्पनीको सेयर मूल्य १ सयदेखि २ सयको बीचमा रहेको छ । त्यसैगरी, २४ कम्पनीको सेयर मूल्य २ सयदेखि ३ सयको बीचमा रहेको छ । नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने घटेर ८७ मा अन्तिम कारोबार भएको छ ।

यसदिन कारोबारमा आएका एक सय ५७ कम्पनीमध्ये प्रोग्रेसिभ फाइनान्स र स्वदेशी लघुवित्त वित्तीय संस्थाको मात्र सेयर मूल्य बढेको छ । प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरूले यस दिन करिब १० प्रतिशत कमाएका छन् । यस दिन एक सय ४४ कम्पनीका सेयर मूल्य घटेको छ भने बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । एनएलजी इन्स्योरेन्सको सेयर मूल्य यस दिन १० प्रतिशत घटेको छ भने अन्य १२ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी घटेको छ ।

 लगानीकर्ताद्वारा आन्दोलनको चेतावनी
सोमबार इन्भेष्टर्स फोरमले पत्रकार सम्मेलन गरी आन्दोलनमा जाने बताएका छन् । बजारको दर्दनाक अवस्थामा पनि सरकार मौन रहनु र सम्बन्धित व्यक्तिले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति फोरमले आपत्ति जनाएको छ । सरकारले जतिसक्दो छिटो सम्झौता गरिएको अवधिभित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागू गर्न, ब्रोकरको संख्या तथा क्षेत्राधिकार विस्तार गरी वाणिज्य बैंकहरूलाई समेत ब्रोकर लाइसेन्स दिनुपर्ने, गैरआवासीय नेपालीलाई पुँजी बजारमा प्रवेश गराउन आवश्यक कानुन निर्माण गर्न, धितोपत्र बोर्ड, नेप्से, सिडिएससीलगायतका निकायको क्षमता अभिवृद्धि गर्नुपर्नेलगायतका माग फोरमले राखेको छ । त्यस्तै, सेयर लगानीकर्ता संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै परिसूचकले नकरात्मक प्रवृत्ति देखाइरहँदा पनि सरकारमा रहेका पुँजी बजारसँग सम्बन्धित निकायहरू मूकदर्शक बनेको आरोप लगाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!