संगालोखबर संवाददाता

काठमाडौं, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदै छ । ७७ जिल्लालाई चार क्लस्टर बनाएर फरक–फरक प्रश्नपत्र तयार गरिएका छन् । शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नुपर्ने व्यवस्था भए पनि संरचना नहुँदा केन्द्रीकृत रूपमै गर्न लागिएको हो । पूर्व र पश्चिमलाई एक–एक तथा मध्यभागलाई दुई क्लस्टर बनाएर तयारी गर्न बोर्डले दिएको अख्तियारीअनुसार परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र तयार गरेको छ ।

नियमित र एक्ज्याम्टेडलाई  फरक–फरक प्रश्न
यस वर्षको एसइईमा नियमित र एक्ज्याम्टेडतर्फका विद्यार्थीलाई फरक–फरक प्रश्नपत्र तयार गरिएको छ । परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले पाठ्यक्रम परिमार्जन भएकाले नियमित र एक्ज्याम्टेडको प्रश्नपत्र फरक–फरक तयार पारिएको बताए । नियमित विद्यार्थीले अनिवार्य विषयमा पहिलोपटक नयाँ पाठ्यक्रमअनुसार एसइई परीक्षा दिँदै छन् । माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार परीक्षा सञ्चालन गर्न लागिएको छ । अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

Advertisement

तयारी पूरा
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न सबै तयारी पूरा भएको जनाएको छ । साधारणतर्फको ८ देखि १७ चैतसम्म र प्राविधिकतर्फको ८ देखि २० चैतसम्म परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायत सामग्री सम्बन्धित जिल्ला हुँदै परीक्षा केन्द्रसम्म पुर्‍याइएको छ । जिल्ला समन्वय समितिको निर्णयअनुसार केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था र अनुगमन कार्ययोजनालगायत व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

४ लाख ८५ हजार परीक्षार्थी
एसइईमा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदै छन् । १ हजार ९ सय ५६ केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एसइई अर्को वर्षदेखि प्रदेशस्तरमा
एसइई अर्को वर्षदेखि प्रदेशस्तरमा सञ्चालन गर्ने निर्णय परीक्षा बोर्डको १६ असार ०७३ को बैठकले गरिसकेको छ । शिक्षा मन्त्रालयको १८ कात्तिक ०७३ को निर्णयअनुसार गत वर्षदेखि कक्षा १० को परीक्षाको नाम परिवर्तन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) बनाइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement