विराटनगर, ६ चैत । विराटनगर रानीस्थित भन्सार कार्यालय प्रदेश १ को मुख्य र देशकै चोथो ठूलो भन्सार नाका हो । चालू आर्थिक वर्षमा ३१ अर्ब २४ करोड ४८ लाखबराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको यो भन्सार औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामग्री आयात गर्ने मुख्य नाका हो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म यस भन्सारले १९ अर्ब ३३ करोड रुपैयाँ राजस्व असुली गरिसकेको छ । भन्सार कार्यालयका प्रवक्ता सुशीलकुमार थापाका अनुसार यस भन्सारअन्तर्गत रंगेली, डोरिया, चुन्नीमारी, डायनिया, कदमाहा, मायागन्ज, चौकीघाट, तरिगामालगायत ९ वटा छोटी भन्सार छन् ।
तर, सशस्त्र द्वन्द्वकालीन अवस्थाले गर्दा ०५५ देखि नै सातवटा छोटी भन्सारले राजस्व संकलन गर्न छाडेका छन् । विराटनगर भन्सार कार्यालयका अनुसार हाल धनपाल थान गाउँपालिका रहेको मायागन्ज, रंगेली नगरपालिका रहेको रंगेली र सुनवर्षी नगरपालिका रहेको डायनिया छोटी भन्सार मात्रै सञ्चालनमा छन् । छोटी भन्सारहरूको राजस्व संकलन एकदमै न्यून छ । चालू वर्षको फागुन मसान्तसम्म रंगेली छोटी भन्सारले १ लाख १२ हजार, मायागन्ज भन्सारले १० लाख ६७ हजार र डायनिया छोटी भन्सारले २ लाख ८० हजार रुपैयाँ मात्र राजस्व असुली गरेका छन् ।
एक नायब सुब्बासहित चार कर्मचारीको दरबन्दी भएका तीनवटै छोटी भन्सारले संकलन गरेको राजस्वले खटिएका कर्मचारीलाई तलब पनि पुग्दैन । तर, राज्यको उपस्थितिका लागि भए पनि तीनवटा भन्सारलाई कामयै गरिएको प्रवक्ता थापाले बताए ।
चोरी तस्करी कायमै
छोटी भन्सारहरूले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्नुको मुख्य कारण चोरी तस्करी नै हो । चालू आर्थिक वर्षमा भन्सार छलीमा प्रहरीले कडाइ गरेपछि धेरै सुधार आएको छ । तर, खुला सिमानाकै कारण चोरी तस्करी पूर्ण नियन्त्रण भने हुन सकेको छैन । मोरङका विभिन्न स्थानमा रहेका छोटी भन्सार हटाएपछि चोरी तस्करीलाई प्रोत्साहन मिलेको छ ।
चालू वर्षमा ४ सय भन्सार छलीका मुद्दा दर्ता
भन्सारको मुद्दा शाखाका अनुसार आर्थिक वर्ष ०७३-७४ मा विराटनगर भन्सारमा चोरी तस्करी आरोपका ४ सय ३० वटा मुद्दा दर्ता भएका थिए । भन्सार छली गरेका मालवस्तु बिक्रिबाट १ करोड ३८ लाख ४१ हजार राजस्व असुली भएको थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विराटनगर भन्सारमा भन्सार छलीका ४ सय १ मुद्दा दर्ता भएका छन् । प्रहरीले भन्सार छलीमा कडाइ गर्न थालेपछि भन्सार छलीका मुद्दाको संख्या वृद्धि हुन थालेको हो । प्रहरी कारबाहीबाट चालू वर्षमा १ करोड ४९ लाख १६ हजारबराबरको राजस्व असुल भएको छ ।
आइसिपी सञ्चालनमा अझै दुई वर्ष लाग्ने
पहिले विराटनगर बजारमा रहेको यो भन्सार ०२९ देखि बोर्डरक्षेत्र रानीमा स्थानान्तरण भएर सञ्चालनमा आउन थालेको हो । चोरी–तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीको राजस्व अनुसन्धान टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरी मात्र नभएर भन्सार कर्मचारीसमेत परिचालित हुँदै आएका छन् । तर, खुला सिमानाले गर्दा चोरी–पैठारी पूर्ण नियन्त्रण हुन सकेको छैन । प्रायः भारतका लागि निर्यात र आयात हुने व्यापारिक वस्तुहरूको अवैध ओसारपसार हुने गरेको छ । दैनिक तीन सय बढी मालबाहक सवारीसाधन आयात गर्ने यो भन्सारको यार्ड साँधुरो भएकाले नेपाल भारतको संयुक्त योजनामा संयुक्त भन्सार जाँचपास विन्दु धमाधम निर्माण भइरहेको छ । तर, भारततर्फ निर्माणसम्पन्न भएर सञ्चालनमा आए पनि नेपालतर्फ भर्खर निर्माण हुन थालेकाले अझै कम्तीमा दुई वर्षपछि मात्र संयुक्त भन्सार विन्दु सञ्चालनमा आउन सक्नेछ ।
च्यानलमार्फत भन्सार जाँचपास
प्रमुख भन्सार अधिकृत मिमांशु अधिकारीका अनुसार विराटनगर भन्सारले भन्सार सुधार रणनीति योजनाअन्र्तगत भन्सार जाँचपास गराउन थालेको छ । जसले गर्दा पहिलेझैँ भन्सारभित्रै जाँचकी र एजेन्टबीच मिलेमतो हुने क्रम घटेको छ । हाल सरकारले निर्देशन गरेको डाटा बेसअनुसार जाँचपास गराउन पनि विराटनगर भन्सार प्रतिबद्ध रहेको उनले बताए । विराटनगर भन्सारले एल्लो, ग्रिन र रेड च्यानलमार्फत भन्सार जाँचपास गराउन थालेको छ ।
मिरगन्जको पुल पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा समस्या
गत साउनमा आएको बाढीले क्षतिग्रस्त बनाएको भारत बिहार राज्यको अररिया जिल्लास्थित मिरगन्जमा रहेको परमान नदीको फलामे पुल अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । जसका कारण दोस्रो र तेस्रो देशबाट आयात–निर्यात हुने सबै मालवस्तु सोझै आवत–जावत गर्न पाइरहेका छैनन् । २० टनभन्दा बढी क्षमता भएका मालवस्तु अझै सुनसरीको भन्टाबारी नाकाबाट रिरुट भएर आवत–जावत गरिरहेका छन् । जसले भन्सारको राजस्वमा पनि असर परिरहेको छ भने उद्योगी व्यापारीहरूले नोक्सानी सहनुपरेको छ ।
मेची भन्सार
भद्रपुरमा मेची पुल सञ्चालनमा आए राजस्व बढछ
१२ वटा छोटी भन्सार कायम भएको नेपालको पूर्वी सिमाना काकडभिट्टामा रहेको मेची भन्सारले राजस्व संकलन गरिरहेको छ । चालू आर्थिक वर्षमा ९ अर्ब २१ करोड राजस्व असुलीको लक्ष्य लिएको यो भन्सारले हालसम्म ६ अर्ब रुपैयाँ असुलिसकेको छ । ०७१/७२ मा ४ अर्ब ८० करोड र ०७२/७३ मा ६ अर्ब ८४ करोड, ०७३/७४ मा ६ अर्ब ५२ करोड रुपैयाँ राजस्व असुली गरेको थियो । यहाँ कायम रहेका बाहुनडाँगी, नकलबन्दा, भद्रपुर, गौरीगन्ज र कुमारखद छोटी भन्सार मात्र चालू छन् । चालू रहेका छोटी भन्सारमध्ये भद्रपुर र गौरीगन्जले मात्र लक्ष्यअनुसारको राजस्व संकलन गरिरहेका छन् ।
गाडागल्ली, सतिघटा, पाठामारी, घेराबारी, पन्थपाडालगायत छोटी भन्सार बन्द छन् । भारतसँग खुला सिमाना भएकाले यहाँका मुख्य चुनौती अवैध रूपमा हुने चोरी–पैठारी नै हो । मेची भन्सारबाट भारत, चीन, भुटान र बंगलादेशसँग व्यापारिक कारोबार बढी हुने गर्छ । ७० प्रतिशत कारोबार भारतसँग मात्र हुने गरेको छ । भुटान र बंगलादेशसँग निकटतम् दुरीमा रहेर कारोबार गर्ने मेची भन्सार नै मुख्य हो । प्रदेश १ मा उत्पादन हुने उच्च मूल्यका कृषिजन्य उत्पादन अदुवा, अलैँची, अम्लिसो आदि भारत र तेस्रो मुलुक निर्यात हुने यो मुख्य नाका हो । यो राजस्व असुलीका हिसाबले नेपालको छैठाँै ठूलो भन्सार नाका हो । भन्सारको काम कारबाहीमा नियमित सुधार आइरहेको र खुला सिमानाबाहेक अन्य चुनौती नरहेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए ।
किमाथांका नाकामा भन्सार कार्यालय नै छैन
पूर्वी पहाडी जिल्ला संखुवासभाको तिब्बती सीमावर्ती किमाथांका नाकाबाट वर्सेनी राजस्व संकलनमा वृद्धि हुन थालेको छ । गतवर्षको तुलनामा चालू आर्थिक वर्षमा राजस्व वृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल महेश श्रेष्ठले जनाए । उनका अनुसार, ०७३-७४ मा ७ लाख २३ हजार राजस्व संकलन भएको थियो भने चालू आर्थिक वर्षको माघ मसान्तसम्म ५ लाख ८४ हजार रुपैयाँ संकलन भएको छ द्वन्द्वकालमा तत्कालीन माओवादीले जिल्लाको हटियामा रहेको भन्सार कार्यालय भत्काएपछि असुरक्षाको कारण देखाउँदै सदरमुकाम खाँदबारी सरेको थियो । हालसम्म नाकामा भन्सार कार्यालय फर्केको छैन । किमाथांका नाकामा बैंक स्थापना नभएसम्म भन्सार कार्यालय पुनस्र्थापना गर्न गाह्रो भएको कर्मचारीहरू बताउँछन् । किमाथांका नाकामा नै भन्सार कार्यालय स्थापना गर्ने हो भने वार्षिक तीस लाखभन्दा बढी राजस्व संकलन हुने अनुमान श्रेष्ठको छ । यो नाकाबाट चौरीको पुच्छर, यार्सागुम्बा, चिराइतो बढी मात्रामा चीनतर्फ निर्यात हुने गरेको छ । सदरमुकाम खाँदबारीदेखि किमाथांका पुग्न पैदल हिँडेर एक हप्ता लाग्छ ।
सुनसरी भन्सार
पाँच महिनाअगावै लक्ष्यअनुसारको राजस्व असुली
चालू आर्थिक वर्षमा १३ करोड ४३ लाखको लक्ष्य राखेको सुनसरी भन्सार कार्यालयले ५ महिना बाँकी रहँदै १३ करोड १५ लाख राजस्व संकलन गरिसकेको छ । प्रमुख भन्सार अधिकृत विष्णुप्रसाद पौडेलका अनुसार मिरगन्जको पुल बाढीले बगाएपछि मालबाहक सवारीहरू रिरुट भएर आउने भएकाले राजस्व असुलीमा वृद्धि भएको हो । साहेबगन्ज, घुस्की, लौकही, लाही, सिसुवा, कौवाखोज र भन्टाबारीलगायत आधादर्जन छोटी भन्सार छन् । तर, लाही, सिसुवाबाहेक अन्य छोटी भन्सारको राजस्व असुली लगभग ठप्प छ । भारत बिहार राज्यको सुपौल जिल्लाका भीमनगर हुँदै मालवस्तु आवत–जावत हुने गर्दछन् । यो नाकाबाट दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, लत्ताकपडा र कृषिजन्य सामग्रीहरू बढी अयात–निर्यात हुने गर्छन् । भन्सार अधिकृत पौडेलका अनुसार खुल्ला सिमानाले गर्दा हुने चोरी–पैठारीबाहेक अन्य चुनौती छैन ।
पाँचथरमा भन्सार नहुँदा समस्या
पाँचथर भारतसँग सीमा जोडिएको जिल्ला हो । यहाँ उत्पादित तथा दैनिक उपभोग्य वस्तुको बजारसमेत भारतका सीमावर्ती बजारमा पर्छन् । जिल्लामा अन्यत्रबाट आयात र अन्य देशमा निर्यातमा सहजताका लागि भन्सार कार्यालयको माग भए पनि स्थापना हुन सकेको छैन । जिल्लाका दुई स्थानमा भन्सार कार्यालयको आवश्यकता रहेको स्थानीयले बताएका छन् । यातायातको सुगमताका हिसाबमा मेमेङ भारतसँग जोडिएको छ । त्यस क्षेत्रमा भन्सार कार्यालयको आवश्यकता छ ।
फालेलुङ गाउँपालिकाका अध्यक्ष सन्चकुमार केरुङका अनुसार भन्सार कार्यालय नहुँदा गाउँपालिकाको आम्दानीमा समेत असर परिरहेको छ । च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालयले समेत आवश्यक काम गर्न नसकेपछि थप समस्या भइरहेको छ । सीमा प्रशासन कार्यालय वर्षौँदेखि कार्यालय सहयोगीको भरमा चलिरहेको छ । त्यस क्षेत्रमा समेत सीमा वारपारको व्यापार भइरहेको छ । ‘भन्सारका विषयमा केही कुरा आएका छन्,’ प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले भने, ‘हामी पहिला सीमाप्रशासन कार्यालयलाई व्यवस्थित बनाउन लागिपरेका छौँ ।’ भन्सार कार्यालय नहुँदा प्रहरीले वर्षेनी अवैध सामान नियन्त्रणमा लिने गर्छ ।
पशुपतिनगर भन्सार
गोरर्खाल्यान्ड आन्दोलनको प्रत्यक्ष प्रभाव
एक करोड ४६ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको इलामस्थित पशुपतिनगर भन्सार कार्यालयमा माघ मसान्तसम्म ४६ लाख ५४ हजार ३७७ रुपैयाँ मात्रै संकलन भएको छ । भन्सार कार्यालयले राखेको लक्ष्य बाँकी अवधिमा पूरा गर्न असम्भव देखिन्छ । पशुपतिनगर भन्सार कार्यालयअन्तर्गत हिले, लुम्लिंङ, मेमेङ, चाङथापु, माइमजुवा, मानेभञ्ज्याङलगायत आठ छोटी भन्सार कार्यालय छन् । तीमध्ये हाल मानेभञ्ज्याङ, छब्बीसे, छिरुवा छोटी भन्सार कार्यालय चालू छन् । महिनामा तीनदेखि सातपटकसम्म भन्सार छलेको सामान कार्यालयमा दाखिला हुने गरेको भन्सार कार्यालयले जनाएको छ । पशुपतिनगरमा सिलिगुडीबाटै सामान ल्याउनुपर्ने र त्यो दुरी लामो भएकाले कमै मात्र सामान आयात–निर्यात हुने पशुपतिनगर भन्सार कार्यालयका प्रमुख सुरेश थपलियाले बताए । भारतको दार्जिलिंगमा भएको गोरखाल्यान्ड आन्दोलनले गर्दा तीन महिना यो नाकामा राजस्व असुली ठप्प भएको थपलियाले बताए । थपलियाले भने, ‘हाम्रो राजस्वको मुख्यस्रोत नेपाल आउने–जाने भारतीय गाडी नै हुन् ।’
ओलाङचुङगोलामा कर्मचारी नै बस्दैनन्
हिमाली जिल्ला ताप्लेजुङबाट चीनसँग सिमाना जोडिएको ओलाङचुङगोला भन्सारमा कर्मचारी नै बस्दैनन् । त्यहाँ हाल प्रहरीको युनिट मात्रै बस्दै आएको छ । भन्सार कार्यालय स्थापना भए पनि कर्मचारी नबस्दा यहाँबाट बहुमूल्य जडीबुडी र वन्यजन्तु चीनतर्फ अवैध रूपमा निर्यात भइरहेको पाइन्छ । ओलाङचुङगोला भन्सारमा ८ जना कर्मचारीको दरबन्दी छ ।