कारोबार दैनिक

काठमाडौं, २ चैत। दक्षिण एसियाका व्यवसायीहरूको वृहत् सम्मेलन ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ शुक्रबार(आज) देखि काठमाडौंमा सुरु हुँदैछ । नेपालमा वैदेशिक लगानी बढाउन तथा क्षेत्रीय लगानी र व्यापार साझेदारी बढाउन सार्क चेम्बर अफ कमर्सले यो सम्मेलन आयोजना गरेको हो ।

विकास र समृद्धिको नारासहित केपी ओली नेतृत्वको सरकार गठन भएपछि पहिलोपटक नेपालमा यस्तो सम्मेलन हुन लागेको हो । सम्मेलनको प्रधानमन्त्री ओलीले नै उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेनलमा यस क्षेत्रका उद्यमी व्यवसायी, राजनीतिक र प्रशासनिक नेतृत्व तथा विज्ञहरूसहित २ सयभन्दा बढी अतिथिले सहभागिता जनाउने छन् ।

Advertisement

तीन दिनसम्म चल्ने कनक्लेभको यो छैटौं संस्करण हो । सम्मेलनको पहिलो दिन उद्घाटनसत्रमात्र हुने तथा शनिबार र आइतबार विभिन्न सेसन हुनेछन् । सम्मेलनमा यस क्षेत्रका व्यावसायिक तथा राजनीतिक नेतृत्वसहित कुटनीतिक र प्रशासनिक क्षेत्रका अगुवा सहभागी छन् । आयोजकका अनुसार दोस्रो दिन आइतबार विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल हुनेछन् र तेस्रो दिन पाँचवटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम छ ।

सम्मेलनमा सार्क क्षेत्रको साझा समृद्धि, सार्क मुलुकमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका,उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशालगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ । सम्मेलनमा आर्थिक वृद्धिका लागि राजनीतिक र आर्थिक समीकरण विषयक सेसनमा नेपालका तर्फबाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि एक सेसनमा भाग लिनेछन् भने सोही सेसनमा श्रीलंकाकी पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानाइके कुमारातुंगा तथा बंगलादेशी प्रधानमन्त्रीका सल्लाहकार सलमान रहमानले मन्तव्य राख्नेछन् ।

कार्यक्रमको पहिलो सत्रमा दक्षिण एसियामा नदेखिएको अर्थिक सम्भावनाको सूत्र तथा अनुभव साटासाटबाट सुरु हुनेछ । आर्थिक विकासका लागि आर्थिक तथा राजनीतिक कन्भर्जेन्स, विश्व अर्थतन्त्रमा साझेदारी विकास, पर्यटन, २०३० सम्म कृषिको डबलीकरण लगायतका सेसन रहेका छन् ।

सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यका अनुसार सम्मेलनले राजनीतिक विवादका बीचमा पनि यस क्षेत्रमा कसरी आर्थिक सहकार्य गर्ने तथा सीमापार व्यापारलाई सहजीकरण गर्ने भन्ने सम्बन्धमा वृहत् छलफल गर्नेछ । सार्क क्षेत्रको बजार संसारकै लागि आकर्षक भएकाले यसलाई आन्तरिक सहकार्यबाटै अघि बढाइउन सकिने उनी बताउँछन् ।

सार्क चेम्बरका उपाध्यक्ष ओम राजभण्डारीका अनुसार अन्तिम सत्रमा सार्क देशहरूका वाणिज्य मन्त्रीहरू सम्मिलित छलफल कार्यक्रम छ । सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरूले सहभागिता सुनिश्चित भएको र २ सय प्रतिनिधिको सहभागिता सुनिश्चित भएको छ । सम्मेलनमा निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वहरू तथा सञ्चारमाध्यमको सहभागिता हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!