कारोबार दैनिक

काठमाडौं, २८ फागुन।  सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा भने आशावादी हुन सकेनन् । बजार खुलेदेखि नै लगातार घटेको सेयर बजार परिसूचक नेप्से ३१.०४ अंकले घटेर बन्द भएको छ ।

वित्तीय प्रणालीमा एनआईसी एसिया बैंक र गोर्खाज फाइनान्सले बचत तथा मुद्दतीको ब्याजदर वढाएपछि समग्र वित्तीय प्रणालीभित्रनै विभिन्न आशंका उत्पन्न भइरहेका छन् । बैकर्स एसोसिएसन तथा एनआईसी एसिया बैंकबीचको असमझदारीले लगानीकर्ताले डराएर सेयर बजार झन् घट्ने केही लगानीकर्ता बताउँछन् ।

Advertisement

नेपाल बैंकर्स संघको कार्यसमितिले एनआईसी एसिया बैंकसँग कुनै पनि प्रकारको अन्तरबैंक कारोबार नगर्ने निर्णयलाई बाँकी बैंकहरूले पनि सहमति जनाएका छन् । शुक्रबार संघको कार्यसमिति बैठकले अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको थियो । साधारण सदस्य रहेका बैंकहरूलाई समेत डाकेर आइतबार बिहान गरिएको छलफलमा २७ वटै वाणिज्य बैंक एनआइसी एसियासँग कारोबार नगर्न सहमत भएका छन् ।

वाफियामा बैकहरू मिलेर ब्याजदर तोक्न नहुने लेखिएको भए पनि यसको असर भने घट्दो क्रममा रहेको बजारमा परेको छ ।
सेयर बजार घट्दो क्रममा गएको उल्लेख गर्दै साना लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, “बजारलाइ सपोर्ट गर्ने लगानीकर्ताको मनोविज्ञानलाई बुझेर नीतिगत कदम नचालेको खण्डमा बियरीस ट्रेन्ड झनै डरलाग्दो हुनसक्ने देखिन्छ ।” घट्दो बजारमा सानो इभेन्टले पनि काम गर्ने अर्यालको भनाइ छ ।

बजारमा सेयर थपिने क्रम कायम भए पनि बजारमा सेयर खपत गर्ने संयन्त्र छैन । यसले पनि बजार घट्नमा सहयोग पुगेको उनको भनाइ छ । सेयर डिलर तथा गैरआवासीय नेपालीलाइ सेयरमा लगानी गर्न खुला गरेमात्र त्यसमा सुधार हुने उनको भनाइ छ । सेयरको खपत वढाउन सकेमा हाल सूचिकृत भएको सेयर धेरै नभएको उनले बताए । नेपालको पुँजी बजार राज्यले सञ्चालन गरेको छ । त्यसैले बजारमा लगानीकर्ताले सँधै गुमाउन नै पर्ने अवस्था रहेको गुनासो उनले गरे ।
सेयर बजारमा न्यून सेयर कारोबार हुनुको मूख्य कारण भनेको पुँजी बजारसम्म पहँुच कम हुनु हो । देशको अर्थतन्त्रको गतिअनुसार सेयर बजार चल्नुपर्ने विश्लेषक बताउँछन् । “बजारमा धेरैभन्दा धेरैको सहभागिता हुनुपर्छ,” एक विश्लेषक भन्छन्, “बजार रियाक्टिभ छ, त्यसमा प्रोयाक्टिभ रोल कसले खोल्ने भन्ने हो ।” आगामी दिन अर्थतन्त्र कसरी अघि बढ्छ त्यो अनुसार बजार पनि विस्तार हुने ति विश्लेषकको भनाइ छ ।
गत साताभर ३१ अंकले घटेको नेप्से आइतबार मात्र पनि सोही गतिमा घटेको छ । आइतबार कारोबार सुरु हुँदादेखि घट्न थालेकोे नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार कारोबार सुरु हुँदा १३१५.६९ अंकमा रहेको नेप्से ३१.०४ अंकले घटेर १२८४.०४ अंकमा झरेको छ । नेप्से संगै ‘क’ वर्गका कम्पनीको सेन्सेटीभ इण्डेक्स पनि ६.४० अंकले घटेको छ ।

नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैंकिङ २३.१५, विकास बैंक २५.६४, वित्त ८.६८, लघुवित्त ४५.५२, जलविद्युत् ६४.६५, बिमा २४३.१८, होटल ६३.५२, अन्य समूह १०.७५ र उत्पादन मूलक समूह भने ५२.१७ अंकले घटेको छ । आइतबार नेप्सेमा १६० कम्पनीको ४ हजार ८ सय ३१ कारोबारवाट ३२ करोड ५१ लाख रूपैयाँ बरावरको ७ लाख ६३ हजार ५ सय ९१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार रकम भन्दा कम हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!