काठमाडौं । मधेसकेन्द्रित दलहरूले कुनै निर्वाचन हुन नदिने दाबी गरिरहेको बेला पर्सा सदरमुकाम वीरगन्जको मुख्य बजारमा मत माग्ने स्थानीय नेता–कार्यकर्ताको लर्को भेटिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनताका लागि अति आवश्यक स्थानीय तह निर्वाचनको विरोध गरेपछि संविधानसभा निर्वाचनमा उनीहरूलाई सघाएका स्थानीय युवाहरूले स्वतन्त्र उम्मेदवार बन्ने जनाउँदै भोट माग्न थालेका हुन् ।

संविधानसभा निर्वाचनमा तमलोपालाई सघाएका युवाहरू वीरगन्ज–१२ निवासी मनोज कलवारको अगुवाइमा साबिकको वीरगन्ज उपमहानगरपालिका–१२ (हालको वडा नम्बर ९) स्थित वीरगन्जको मुख्य बजारका पसल–पसलमा पुगेर भोट मागेका हुन् । सोमबार दिउँसो उनीहरूले पसल–पसलमा पुगेर मत मागेका थिए । अहिले कुनै पार्टीबाट नभए पनि स्वतन्त्र रूपमा जनतासामु भेटघाट गर्न थालेको कलवारले बताए । ‘पहिले विकासप्रेमी भएकाले विमल दाइका लागि भनी सघाएको हो ।

उहाँ तमलोपामा हुनुहुन्छ, अहिले हामी आफैं अघि बढ्ने निर्णयमा पुगेका छौं,’ पसलमा मत मागिरहेको अवस्थामा भेटिएका कलवारले भने । स्थानीय तह निर्वाचनमा कुन पार्टीमा लाग्ने भन्ने निक्र्योल भइनसकेकाले स्वतन्त्र रूपमा मत मागेको उनले बताए ।

नेपाली कांग्रेसमा रहेका कौशल वर्णवाल पनि पार्टीले नदिए स्वतन्त्र उम्मेदवार बन्ने बताई पसल–पसलमा पुगेर मत मागे । उनी पनि कलवारसँगै भेटिएका हुन् । ‘पार्टीले नदिए पनि स्वतन्त्र उठ्न त कसैले रोक्दैन, पार्टीमा आफ्नो कुरा राख्ने हो, नदिए स्वतन्त्र उठ्ने हो,’ उनले भने । तराई–मधेसका अधिकांश युवाहरूलाई पछिल्लो संरचनाअनुसार आएको बजेटबारे कसैले पनि प्रस्ट जानकारी दिएका छैनन् ।

नेता मिलेर बाँडीचुडी खाने भएको कारण युवाहरूलाई कुनै जानकारी दिन नगरिएको र विनियोजन भएको बजेटबारे जानकारी पाए मधेसमा चुनावको विरोध हुनै नसक्ने व्यापारीहरूको भनाइ छ । उनीहरूले स्थानीय तहको अधिकारबारे जनताले जानकारी पाउनासाथ चुनाव रोक्न सम्भव नहुने बताए ।

त्यसो त हरेक दलमा नगरपालिकाको मेयरमा को उठ्ने ? भन्ने आन्तरिक चासो निकै बढेको छ । भर्खरै संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय सराबगी वीरगन्ज उपमहानगरपालिकाको मेयरमा चर्चा चुलिएको छ । कांग्रेस–एमालेका नेता–कार्यकर्ता पनि आन्तरिक छलफलसँगै टिकटका लागि दाउपेचमा लागेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!