नागरिक

काठमाडौं, २३ माघ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई नयाँ सुविधा थप्ने क्रममा सापटी सेवा सुरु गरेको छ । यो सेवा सुरु भएपछि अब कुरा गर्दौगर्दै ब्यालेन्स सकिए पनि लाइन काटिने छैन ।

Advertisement

नेपाल टेलिकमले सोमबार १४ वार्षिकोत्सवको अवसरमा कुरा गर्दागर्दै ब्यालेन्स सकिँदा फोन काटिने समस्यालाई सम्बोधन गर्दै सापटी ब्यालेन्स हालिदिने गरी ‘नमस्ते क्रेडिट’ व्यवस्था गरेको हो । यसरी सापटी ब्यालेन्स हालिदिएको रकम ग्राहकको रिचार्जबाट काटिने छ । तर यसमा ब्याज नलाग्ने टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।‘आजदेखि नमस्ते क्रेडिटको सफ्ट लन्च गरेका छौं,’ राजभण्डारीले भनिन्, ‘एक महिनापछि व्यावसायिक सुरुवात गरिने छ ।’

वार्षिकोत्वको अवसरमा बोल्दै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमले चाहे जति प्रगति गर्न नसकेको बताए । ‘सरकारको सहयोग नहुँदा पनि निजी क्षेत्रको कम्पनी नेपाल टेलिकमभन्दा अगाडि गइसकेको छ,’ मन्त्री बस्नेतले भने, ‘यो गम्भीर कुरा हो ।’ उनले टेलिकमको प्रगतिलाई रोक्न अनेक तत्व सक्रिय रहेको भन्दै एक टेन्डरको लागि पनि अनेकौं समस्या भोग्नुपरेको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्भर झाले टेलिकम प्रतिस्पर्धामा तल जान थालेको बताउँदै योजनाहरू सम्पन्न गर्न सयममै निर्णय गर्न गर्नुपर्ने बताए । उनले फ्रिन्वेन्सीबाट अर्बौं रुपैयाँ कमाउने मौका हँुदाहुँदै सरकारले त्यसमा ध्यान नदिएको बताए ।

प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार कम्पनीको यो वर्ष १७.२३ प्रतिशतले वृद्धि हुँदै ग्राहक एक करोड ८५ लाख ५८ हजार नाघेको र टेलिघनत्व ६४.६३ प्रतिशत पुगेको जानकारी गराइन् ।  त्यसैगरी, कम्पनीको डाटा प्रयोग गर्ने ग्राहक १०.७७ प्रतिशतले वृद्धि भई ८९ लाख ३५ हजार र डाटा घनत्व ३१.१२ प्रतिशत पुगेको छ ।कम्पनीले आर्थिक वर्ष ०७३/७४ मा ४४ अर्ब ५९ करोड आम्दानी गरेको र खुद नाफा १३.४२ प्रतिशतले वृद्धि हुँदै १५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । टेलिकमले राज्यलाई २४ अर्ब ५४ करोड रुपैयाँ राजस्वमा योगदान गरेको राजभण्डारीले बताइन् ।
बक्स
मोबाइलमा धेरै खर्च गर्ने व्यक्ति र संस्था
मुलुकमा मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति को होला ? नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन् । उनले एक वर्षमा आफ्नो पोस्टपेड मोबाइल नम्बरबाट एक लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन् ।

नेपाल टेलिकमको १४औं वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै मोबाइल प्रयोग गर्ने आफ्ना ग्राहकलाई सम्मान गर्न उक्त तथ्यांक सार्वजनिक गरेको हो ।त्यसैगरी, संस्थागत पोस्टपेड मोबाइलबाट धेरै खर्च गर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । उसले एक वर्षमा नौ लाख ४६ हजार एक सय ८० रुपैयाँ ६० पैसा खर्च गरेको छ ।

नेपाल टेलिकमको प्रिपेड मोबाइलबाट सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं बानेश्वरका पुष्प दुलाल रहेका छन् । उनको वार्षिक मोबाइल खर्च ६४ हजार ४ सय ५ रुपैयाँ ७१ पैसा रहेको छ ।सिडिएमए पोस्टपेडमा व्यक्तिगत रुपमा सबैभन्दा धेरै रिचार्ज गर्नेमा मोरङका दिलबहादुर लावती र संस्थागतमा नवज्योति इम्पेक्स, काठमाडौं रहेको छ । लावतीले ३७ हजार दुई सय र नव ज्योतिले १८ हजार ६ सय रुपैयाँ खर्च गरेका छन् । सिडिएमए प्रिपेडमा व्यक्तिगत रुपमा सुनसरी, महेन्द्रनगरका विदुर परियारले दुई लाख २१ हजार एक सय ६ रुपैयाँ ७० पैसा खर्च गरेको टेलिकमले जनाएको छ ।

वाइम्याक्समा सबैभन्दा धेरै खर्च र्गेमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, पाटन, ललितपुर रहेको छ । उसले ८८ हजार रुपैयाँ वार्षिक खर्च गरेको छ । सर्वोच्च अदालत, काठमाडौंले लिज लाइन प्रयोग गर्दै एक करोड ६८ लाख २९ हजार ६ सय ८० रुपैयाँ ९४ पैसा खर्च गरेको छ ।पिएसटिएन अर्थात ल्यान्डलाइन टेलिफोन धेरै प्रयोग गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले छ । जसको खर्च ४२ लाख एक हजार दुई सय ३४ रुपैयाँ ३१ पैसा रहेको छ । व्यक्तिगत रुपमा ल्यान्डलाइन प्रयोग गर्नेमा कञ्चनपुरका रामप्रसाद राना रहेका छन् । उनले वार्षिक एक लाख २६ हजार आठ सय ६४ रुपैयाँ ५२ पैसा खर्च गरको टेलिकमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!