नयाँपत्रिका

काठमाडौं, २० माघ । प्रदेश ५ को नामकरण गौतम बुद्धसँग सम्बन्धित हुनुपर्ने पक्षमा दलहरू सहमत देखिएका छन् । गौतम बुद्धसँगै जोडिएको लुम्बिनी नाम बढी चर्चामा छ ।

तर, साबिकको लुम्बिनी अञ्चलसँगै राप्ती र भेरी अञ्चल जोडिएको, थारू, मगरात र खस–आर्यको क्लस्टर मिलाउनुपर्ने अवस्था आए बुद्धको नामसँगै कुनै अर्को नाम पनि जोड्न सकिने विकल्पमा छलफल सुरु भएको छ ।

Advertisement

बाँके, बर्दियासम्मलाई विश्वासमा लिन लुम्बिनी नभनी सिद्धार्थ गौतम, गौतम बुद्ध, बुद्धसँगै अर्को कुनै क्लस्टर वा भूगोल जोडेर नाम राख्न सकिने विभिन्न दलका सांसद बताउँछन् ।

संविधानअनुसार प्रदेश सभाको दुईतिहाइ मतले प्रदेशको नाम राख्न सक्नेछ । अरू विषयमा दलहरूबीच मतान्तर भए पनि प्रदेशको राजधानी तोक्ने र यसको नाम राख्ने विषयमा भने दलीयभन्दा भौगोलिक अवस्थिति र भौगोलिक निकटता हाबी हुने देखिएको छ ।

प्रदेश ५ अन्तर्गत पहिलेको लुम्बिनी अञ्चलमा कपिलवस्तु, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा जिल्ला पर्छन् । त्यस्तै, राप्ती अञ्चलका पूर्वीरुकुम, प्युठान पनि लुम्बिनी वा बुद्धसँग सम्बन्धित नामका विषयमा असहमत रहने देखिएको छैन ।

किनकि, प्रदेशको अस्थायी राजधानी दाङ नभई बुटवल तोकिँदा राप्तीका रुकुम, प्युठान र रोल्पाले समेत खासै असन्तुष्टि जनाएनन् । दाङमा असन्तुष्टि देखियो, तर पश्चिमका बाँके र बर्दियाले पनि प्रदेश बुटवल तोकिँदा खासै प्रतिक्रिया देखाएनन् ।

यसकारण भोलि भोटिङ हुँदा पनि लुम्बिनी र राप्तीबाट प्रतिनिधित्व गर्ने दलहरूकै सांसदको प्रस्ट दुईतिहाइ मत पुग्ने हुँदा लुम्बिनी नाम नै हुने सम्भावना बढी देखिन्छ । पहिलेको लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने जिल्ला धेरै रहेको र बुद्धका विषयमा खास कोही पनि विभाजित नभएकाले उनीसँगै सम्बन्धित नाम प्रदेश ५ को रहने पक्कापक्की छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!