नयाँपत्रिका

काठमाडौं, ९ माघ। त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन्न गर्न सकेका छैनन् । नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन । व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको छ । त्रिविले स्नातकोत्तर तहमा केन्द्रीय विभागबाट सुरु गरेको सेमेस्टर प्रणाली उपत्यकाका आंगिक क्याम्पस कार्यान्वयन गरेको छ । तर, डिन कार्यालयले भने शैक्षिक क्यालेन्डरअनुसार जिम्मेवारी पूरा गर्न सकेका छैनन् ।

Advertisement

व्यवस्थापन, मानविकी र साइन्समा समस्या
शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको, तर सबैले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताइन् । गत वैशाखदेखि उपत्यकाका आंगिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गर्ने क्यालेन्डर दिए पनि कतिपयले ढिला गरी गरेको उनको भनाइ छ । ‘वैशाखदेखि सुरु गर्नुपर्नेमा कतिपयले असारबाट कक्षा सुरु गरे र अहिलेसम्म पूरा गर्न सकेका छैनन्,’ त्रिपाठीले भनिन् ।

डिन कार्यालयहरूमा अहिले सबैभन्दा पछाडि व्यवस्थापन संकायको डिन कार्यालय परेको छ । आंगिक क्याम्पसमा भर्नाको समयमा देखिएको विवादलगायतका कारण पनि क्यालेन्डर कार्यान्वयन गर्न नसकिएको हो । त्रिपाठीका अनुसार ६ महिनामा परीक्षा लिइसक्नुपर्ने र अर्को सेमेस्टर सुरु भएपछि नतिजा सार्वजनिक हुनुपर्ने थियो ।

व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्ली शर्माले उपत्यकाका आंगिक क्याम्पसमा पहिलोपटक सुरु भएकाले कतै दुईपटक प्रवेश परीक्षा, ओरियन्टेसनलगायतका कारण केही ढिलाइ भएको बताए । ‘व्यवस्थापनमा धेरै विद्यार्थी भएको र प्राविधिक कुरा मिलाउनुपरेकाले केही ढिलाइ भयो, अब परीक्षा छिटै सकिन्छ,’ उनले भने । वैशाखबाट प्रथम सेमेस्टरको पढाइ सुरु गरेको साइन्सको डिन कार्यालयले गत भदौदेखि परीक्षा लिन सुरु गरेको थियो । उसले केही समयअघि मात्र सम्पन्न गरेको छ । साइन्सका १३ विषयमध्ये पाँच विषयको परीक्षा गत भदौ महिनामा सम्पन्न भएकामा अरू बाँकी विषय आठौँ महिनामा सकिएका थिए । मानविकी संकायमा पनि उस्तै समस्या छ । वैशाखबाट सुरु भएको सेमेस्टर गत ३ माघमा मात्र सम्पन्न भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!