धरान, ७ माघ । चारपाने झापाकी २६ वर्षीय करुणा वाग्ले (नाम परिवर्तन) लाई गत साता सुत्केरी व्यथाले च्यापेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो । साँझ ७ बजेतिर ल्याइएकी अनितालाई व्यथाले च्यापेपनि नर्मल डेलीभरी हुन सकिरहेको थिएन । प्रतिष्ठानको गाईनो वार्डका चिकित्सकले करुणाका श्रीमानलाई अप्रेसन गर्न सुझाए ।

Advertisement

करुणा पहिलो पटक गर्भवती भएकाले श्रीमानले रिक्स लिन चाहेनन् । चिकित्सककै अनुरोधमा राती १० बजे उनलाई लेबर (प्रसूति कक्ष) मा लगियो । त्यसपछि चिकित्सकले औषधी लगायत अप्रेसनका साधन ल्याउन श्रीमानलाई भने । श्रीमान् तत्कालै प्रतिष्ठान हाता भित्र फार्मेसी छ की छैन भनेर खोज्न थाले । तर, कहीँ भेटाउन सकेनन् ।

गाईनोवार्डको सुरक्षा गार्डसँग मेडिकल पसलका विषयमा सोधपुछ गर्दै गर्दा एउटा युवक उनका अगाडी आउँदै कस्तो औषधि चाहिने हो ? भन्दै सोधखोज गरे । नारायणले आफ्ना कुरा राख्न नपाउँदै ती युवकले आफू सबै ‘औषधी म्यानेज गर्न सक्ने’ र ‘सहयोगपनि गर्ने’ भन्दै उनकै मोटरसाइकलमा प्रतिष्ठान हाता बाहिरको एउटा मेडिकल हलमा लिएर गए ।

नारायणले चिकित्सकले दिएको पुर्जी अनुसार औषधी लिएर पैसा पनि तिरे । ती युवकले नारायणलाई पुनः मोटरसाइकलमा राखेर गाईनोवार्डमै ल्याइदिए । यसरी नचिनेको मान्छेले रातविरात सहयोग गरेपछि नारायणले तीनलाई दुई सय रुपैंया हातमा राखिदिए । ‘पर्दैन दाइ म तपाईहरु जस्ताकै सहयोगको लागि आएको हुँ, अरुबेला पनि चाहिए फोन गर्नु म आउँला’ भन्दै ती युवकले मोबाइल नं. पनि दिएर गए’ भोलि पल्ट पनि त्यही युवकलाई साथ लिएर नारायणले पुनः त्यही मेडिकल हल मै गएर औषधी लिए । उनीसँग पैसा नहुँदा मेडिकलले पनि बाँकी दियो ।

अन्तमा प्रतिष्ठानले डेलीभरी सकाएर डिस्चार्ज गरेपछि मेडिकलमा बाँकी रकम तिर्ने बेलामा भने उनी छाँगाबाट खसेजस्तो भए । उनले लगेको औषधीको बाँकी रकम मात्रै ७ हजार बढी भएछ । ‘२ पटक मात्र सामान्य प्याड, स्लाईन पानी र दुखार्ई कम गर्ने औषधी लिएको थिए । अहिले खाता देखाउँदै ७ हजार ४ सय भयो भने ।’ उनले भने । नारायणले ‘कसरी यत्रो बाँकी भयो थाहै छैन’ भन्दा चार पाँच ओटा विल देखाउँदै ‘तपाइकै नाममा काटिएको’ भन्दै ती पसले उनीसँग बाझ्न आए ।

उनले आफूसँग त्यत्रो पैसा नभएको भन्दै प्रतिवाद गर्दै गर्दा एकै क्षणमा त्यही राती सहयोग गर्ने युवक आईपुगे । नारायणले ती युवकलाई ‘त्यत्रो औषधी नलगेको’ भन्दा उल्टै ती युवकले ‘औषधी लाने बेलामा लग्ने अहिले पैसा छैन भनेर हुन्छ ?’ भन्दै हात नै हाल्न खोजे । उनी आफूसँग भएको साँढे ६ हजार तिरेर फर्किए । ‘कस्तो अचम्म ! सहयोग गर्छु भन्दै आउने अनि उल्टै नभएको औषधी किनेको भन्दै मनपरी पैसा असुल्ने !’ उनीसँग औषधी खरिद गरेको विलसमेत छैन । ‘डाक्टरले देको पुर्जी अनुसार नै किनेको हुँ ।’

पूर्वकै गहनाका रूपमा चिनिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको यो घटना नौलो हैन । यहाँ यस्तै तरिकाबाट दैनिक सयौँ बिरामी ठगिईरहेको गुनासो छ । प्रतिष्ठान बाहिर सञ्चालित फार्मेसीहरुले ‘दलाल’ मार्फत औषधी बिक्री वितरण गर्न थालेपछि प्रतिष्ठान परिसरबाटै दिन दहाडै ठगिनु परेको बिरामीका आफन्त बताउँछन् ।

प्रतिष्ठान हाता भित्र फार्मेसी छैन । र, प्रतिष्ठान बाहिर रहेका फार्मेसी सम्मको दुरी पनि टाढा छ । ‘साधन भएकालाई ठिकै हो, नभएकालाई इमरजेन्सी पर्दा समस्या हुन्छ । पहिले अस्पताल भित्रै फार्मेसी थियो । अहिले रहेनछ ।’ श्रीमती सुत्केरी गराउन आएका इटहरी–४ का रविन्द्र प्याकूरेलले भने । उनलाई पनि एक युवकले औषधी ल्याउन परे सम्पर्क गर्न भन्दै नम्बर दिएका रहेछन् । ‘पहिला यहीँ भित्र औषधी पसल थियो, रातबिरात दौडिनु पर्दैनथ्यो, अहिले २० मिनेट बढी हिँड्नुपर्छ ।’ उनले भने ।–‘केटाहरू आएरै औषधी ल्याईदिने भन्दै वार्गे्निङ पनि गर्छन ।’

प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीहरूलाई प्रतिष्ठान बाहिर रहेका अधिकांश मेडिकल सञ्चालकले सहयोगको नाममा औषधि भिडाउने र पछि रकम असुल्ने गरेको बिरामीका आफन्तको गुनासो छ ।

केही समय अघि औषधी पसल सञ्चालकको कर्तुत सार्वजनिक भएको थियो । त्यसबखत प्रहरीले केही मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएरै सार्वजनिक अपराध अन्तर्गत कारबाही अघि बढाएको थियो । तर, अहिले प्रतिष्ठान हाताभित्र रहेको एक मात्र लाईफ केयर मेडिकल पनि बन्द भएपछि बाहिरका विचौलियाले बिरामी ठग्ने राम्रो मौका पाएका छन् ।

प्रतिष्ठानको सर्जरी, प्रसूति, बालरोग र मेडिसिन वार्डमा बिचौलियाहरु घुम्ने गर्छन् । उनीहरूले बिरामीका आफन्तलाई सहयोग गर्ने बहानामा महँगो रेटमा औषधी भिडाउने गरेका छन् । अस्पताल परिसरमै फार्मेसी नहुँदाको फाइदा उठाउँदै उनीहरूले बिरामीका आफन्तलाई दिन दहाडै लुटेपनि वीपी प्रतिष्ठान प्रशासन भने मौन छ ।

फार्मेसी नहुँदा बिरामीका आफन्तलाई समस्या

प्रतिष्ठानदेखि फार्मेसीहरु टाढा हुँदा बिरामीका आफन्तलाई मर्का परेको छ । अझ, विचौलिया मार्फत महँगो रेटमा औषधी खरिद गर्नु परेपछि उपचार महँगो भएको बिरामीका आफन्तले बताएका छन् । पहिला नजिकै औषधी पसल थियो, अहिले त आधा घण्टा हिँड्नु पर्छ । इमरजेन्सी औषधी चाहिए गाह्रो हुन्छ ।’ मोरङ, कानेपाखरीकी लक्ष्मी धितालले बताइन् । झापा दुधेका कमल बजगाँईले पनि रातविरात औषधी लिन जाँदा समस्या भएको गुनासो गरे । ‘राती १, २ बजे औषधी ल्याउनु भन्छन, बाहिर गयो कति मेडिकल बन्द नै हुन्छन् ।’ उनले भने ।

प्रतिष्ठानको इमरजेन्सी बाहेक मेडिसिन वार्ड, गाईनो, बालरोग वार्ड र फार्मेसीहरुको दुरी टाढा छ । वीपी प्रतिष्ठान हाताभित्र सञ्चालित लाईफ केयर मेडिकल हल विगत डेढ महिनादेखि बन्द छ । प्रतिष्ठान आफैँले फार्मेसी सञ्चालन गर्ने भए पनि लाईफ केयरलाई छाड्न भनेको थियो । फार्मेसी सञ्चालकले स्टक सामान सकिएपछि डेढ महिना अघिबाट फार्मेसी खाली गराउँदै आएका छन् । अहिले प्रतिष्ठानको इमरजेन्सी, गाईनो र सर्जरीका फार्मेसी बन्द गरिएका छन् ।

सरकारी स्वास्थ्य संस्थाले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशिका सरकारले जारी गरेको छ । सरकारकै निर्देशिका अनुसार अनुरूप सरकारी स्वास्थ्य संस्थाले आफ्नै फार्मेसी बनाउनु पर्नेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निदेशिका आएको दुई वर्ष हुँदासमेत फार्मेसी बनाउन तदारुकता देखाएको छैन ।

प्रतिष्ठान व्यवस्थापनले लाईफ केयरलाई कोठा खाली गर्न भनेपनि आफैँले फार्मेसी चलाउन कुनै चासो देखाएको छैन । अहिले फार्मेसी चलाउनकै लागि भनेर प्रतिष्ठानले ३५ जना कर्मचारी लिइसकेको छ । तर, उनीहरु अहिले वेकाम छन् ।

प्रतिष्ठान भित्र सञ्चालित लार्ईफ केयर मेडिकल बन्द गराउन भन्दै प्रतिष्ठान बाहिरका मेडिकल सञ्चालक नै लागेका थिए । उनीहरूले प्रतिष्ठान आफैँले फार्मेसी चलाउनु पर्छ भन्दा पनि भित्र रहेको फार्मेसी बन्द गर्नुपर्छ भनेर आन्दोलन नै गरेका थिए । उनीहरूको आन्दोलनका कारण प्रतिष्ठानले लाईफ केयरलाई कोठा खाली गर्न भन्यो । तर, फार्मेसी नहुँदा प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीलाई पर्ने समस्याका विषयमा कुनै विचार नै गरेनन् ।

प्रतिष्ठान स्रोतले दिएको जानकारी अनुसार उपकूलपति डा. राजकुमार रौनियारले केही फार्मेसीहरुसँगको सेटिङमा लाईफ केयरलाई खाली गर्न भनेका हुन् । ‘सरकारको निर्देशन मान्नु भन्दापनि केही फार्मेसीहरुको दबाब र कमिसनको चक्करमा फार्मेसी सञ्चालन नगर्ने सेटिङ भइरहेको छ ।’ स्रोतले भन्यो । स्रोतका अनुसार प्रतिष्ठान व्यवस्थापन आफैँ फार्मेसी चलाउने भन्दा बाहिर आफैँले फार्मेसी चलाएर भित्रीरुपमा बाहिरका मेडिकल सञ्चालकको टिमलाई नै भित्राउँने चलखेल भइरहेको छ । यसका लागि उपकूलपतिले औषधी व्यवसायी सघका राजु श्रेष्ठ, रजत फर्मका ब्यवस्थापक मचेन लिम्बुसँग साँठगाँठ गरेको आरोप छ ।

प्रतिष्ठानमा रजिष्ट्रार तुलबहादुर श्रेष्ठले पनि फार्मेसी कहिले सञ्चालन गर्ने कुनै कुरा नभएको बताए । उनले फार्मेसी चलाउन उपकूलपतिले नै टेन्डर गरेको भन्दै आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । ‘भिसा सर र डाईरेक्टर नै लाग्नु भएको छ । उहाँहरूलाई नै थाहा होला फार्मेसी कहिले चलाउने ?’ उनले भने ।  प्रतिष्ठानका उपकूलपति डा. रौनियारसँग जानकारी लिनका लागि उनको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!