कान्तिपुर

काठमाडौँ, ४ माघ । वाम गठबन्धनले राष्ट्रिय सभा चुनावमा ४३ सिट जित्ने आकलन गर्दै त्यति नै सिटमा मात्र उम्मेदवारी दिने भएको छ । राष्ट्रिय सभाका ५९ मध्ये ५६ सांसद निर्वाचनबाट चुनिन्छन् । तर गठबन्धनले ४३ सिटमा मात्र उम्मेदवारी दिन लागेको हो । त्यसमा एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने सहमति भएको छ ।

Advertisement

 

राष्ट्रिय सभाका उम्मेदवारलगायतका विषयमा गृहकार्य गर्न गठित गठबन्धनको कार्यदलले उम्मेदवारी दिने स्थानबारे टुंगो लगाएको हो । ‘जति स्थानमा जित्ने अवस्था छ, त्यहीअनुसार उम्मेदवारी दिने निर्णय भएको छ,’ कार्यदल संयोजक एमाले नेता सुवास नेम्बाङले भने ।
एकल संक्रमणीय मतदान प्रणालीमा एउटाको बढी भएको मत अर्को उम्मेदवारमा सर्दै जाने भएकाले सबै स्थानमा गठबन्धनले जित्दैन । त्यसैले १३ वटा सिटमा उम्मेदवारी नदिने गठबन्धनको निष्कर्ष छ ।
१३ वटा सिटका लागि अन्य दलसँग पनि छलफल गर्ने सहमति बने केही उम्मेदवार थपिन सक्नेछन् । ‘अझै गठबन्धनका शीर्ष नेतासँग पनि छलफल गरेर टुंगोमा पुग्छौं,’ माओवादी केन्द्रका नेता रामबहादुर थापाले भने ।
दुई दलले यसअघि चुनावमा ६० र ४० प्रतिशत भागबन्डा गरे पनि राष्ट्रिय सभामा फरक मापदण्ड अपनाएका छन् । एमालेतर्फबाट ६७ प्रतिशत र माओवादीतर्फबाट ३३ प्रतिशत उम्मेदवार हुने भएका छन् ।
स्थानीय तह र प्रदेशसभाबाट निर्वाचितमध्ये एमालेका धेरै भएकाले मतदाता संख्याका आधारमा दुई दलले भागबन्डाको सूत्र बदलेका हुन् । प्रतिनिधिसभा चुनावमा भागबन्डा ६० र ४० भए पनि परिणाम ७० र ३० प्रतिशतको अनुपातमा आएको थियो ।
सातैवटा प्रदेशमध्ये कुन प्रदेशमा कति उम्मेदवार कुन–कुन दलबाट उठाउने भन्ने पनि टुंगो लागेको छ । प्रदेश १ को ६ सिटमा गठबन्धनको उम्मेदवारी हुनेछ । त्यसमा ५ एमाले र एक महिला उम्मेदवार माओवादीका हुनेछन् ।
प्रदेश २ मा गठबन्धनले धेरै सिट नजित्ने आकलन भएकाले दुई सिटमा मात्र उम्मेदवारी दिने भएको छ । प्रदेश २ मा एमालेले एक खुला र माओवादी केन्द्रले एक महिला सिटमा मात्र उम्मेदवारी दिनेछन् । प्रदेश ३ मा ७ सिट जित्ने गठबन्धनको आकलन छ । सबैभन्दा बढी एमालेकामतदाता रहेकाले यो प्रदेशमा माओवादीले २ सिटमा मात्र उम्मेदवारी दिनेछ भने एमालेका ५ उम्मेदवार हुनेछन् ।
प्रदेश ४ मा वाम गठबन्धनले ६ सिटमा उम्मेदवारी दिनेछ । ४ एमाले र २ माओवादी उम्मेदवार हुनेछन् । प्रदेश ५ मा एमाले ४, माओवादीका ३ उम्मेदवार हुनेछन् । प्रदेश ६ मा भने ८ वटा सिट जित्ने अनुमान गठबन्धनको छ । त्यसमा ५ सिटमा एमाले र ३ सिटमा माओवादीका उम्मेदवार हुनेछन् । प्रदेश ७ मा ७ सिटमध्ये एमालेका ५ र माओवादीका २ उम्मेदवार हुनेछन् ।
सिट बाँडफाँट चारवटा आधारमा गरिएको कार्यदल संयोजक नेम्बाङले जानकारी दिए । उनका अनुसार दलले पाएको मत, उम्मेदवारको सन्तुलन, एकताको भावना र कुन पदको औचित्य तथा आवश्यकता के हो भन्ने आधारमा सिट बाँडफाँट गरिएको हो । कार्यदलले दिएको सिफारिसलाई वाम गठबन्धनको एकता संयोजन समितिले अनुमोदन गर्नेछ । त्यस आधारमा दुवै दलले आफूले पाएका सिटमा उम्मेदवारचयन गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!