संगालोखबर संवाददाता

काठमाडौं, २६ पुस । यदि तपाईंले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नु भएको छ भने सावधान रहनु होला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गर्ने गरेको पाइएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला पारेको हो । विभागका शाखा अधिकृत दिपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोवीखोलानजिक एक कवाडी पसलबाट दूषित हानिकारक तेल बिक्री गरेको फेला परेको हो । “कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो,” शाखा अधिकृत पोखरेलले भने, “लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं ।”

Advertisement

उपभोक्ताको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने तेल भएकाले सो तेल बिक्री गर्ने एक जना र खरिद गर्ने दुई जनालाई प्रक्राउ गरी गौशाला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए । विभागले नमूना संकलन गरेर कारवाही प्रक्रिया अगाडि बढाउन समय लाग्ने हुँदा कालोबजारी ऐनअनुसार कारवाही गर्नका लागि प्रहरीलाई जिम्मा लगाइएको पोखरेलले जानकारी दिए । तोरीको तेल भनेर ड्रममा राखेर प्रतिलिटरमा तीन सयदेखि चार सय रुपैयाँसम्ममा बिक्री गरेको अनुगमनका क्रममा फेला परेको छ । कुन ब्रान्डको तेल हो भनेर छुटाउन नसकिने गरी ड्रममा भन्डारण गरेर राखिएको ८० लिटर तेल अनुगमन टोलीले फेला परेको थियो । ८० लिटर दूषित तेल समेत प्रहरीलाई जिम्मा लगाइएको विभागले जानकारी दिएको छ ।

भारतीय नागरिक राजेश रौनियार सञ्चालक रहेको सो कवाडी पसलमा लामो समयदेखि हानिकारक तेल बेच्दै आएको पाइएको छ । सञ्चालक रौनियारकी श्रीमती सरिता रौनियार र तेल खरिद गर्न आएका बालेश्वर साह र राम साहलाई प्रहरीले प्रक्राउ गरेको छ । सो तेल चटपटे र पानी पुरीमा प्रयोग गर्ने गरिएको छ । सडक पेटीमा राखेर ठेलामा राखेर बिक्री गर्ने चटपटे र पानीपुरीमा सो तेल प्रयोग गर्ने गरेको पाइएको छ । यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ठेलामा राखेर बिक्री गरिने ससेज पानीपुरी, चटपटे दूषित रहेको फेला पारेको थियो ।

पछिल्लो समय विभागले बजार अनुगमनको कामलाई सक्रिरुपमा अगाडि बढाएको छ । बजारमा हुने मिसावट, कालोबजारी तथा ठगी रोक्नका लागि विभागले नियमितरूपमा बजार अनुगमनको कामलाई अगाडि बढाएको छ । अनुगमनका क्रममा स्वास्थ्य, शिक्षा, खाद्यान्न, पेट्रोलपम्म, सुनचाँदी, पेयपदार्थ, माछामासु, तरकारी, फलफूल, अटोमोबाइल, यातायात, लत्ताकपडा, ड्राइभिङ, सपिङ सेन्टर लगायतका अन्य क्षेत्रमा उपभोक्ता ठगी हुने गरेको पाइएको छ । नियमनकारी निकायको समन्वय नहुँदा ठगी गर्ने व्यवसायीलाई प्रोत्साहन मिल्दा बजार उपभोक्तामुखी भन्दा पनि व्यवसायीमुखी बन्दै गएको उपभोक्ताको गुनासो छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement