नयाँपत्रिका

मोरङ,२३ पुस। मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र नभए त्यही जग्गामा उद्योगधन्दा चलाउन स्थानीयले मोरङ–३ बाट निर्वाचित सांसद भानुभक्त ढकालसँग माग गरेका हुन् ।

Advertisement

पेट्रोलियम अन्वेषणका क्रममा ३५ वर्षअघि नेदरल्यान्ड सरकारको ‘सेल’ नामक कम्पनीले राधानगरमा तीन हजार पाँच सय मिटर गहिरो ड्रिल गरी १४ महिनासम्म अनुसन्धान गरे पनि अहिलेसम्म पेट्रोल निकाल्ने काम सुरु भएको छैन । पटकपटक लाखौँ रुपैयाँ खर्चेर अन्वेषण गरे पनि पेट्रोल निकाल्न नसकिएको हो ।

स्थानीय तहदेखि प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनमा समेत चुनावी एजेन्डाका रूपमा रहेको सो खानीले जनतालाई अलमल्याइरहेको स्थानीयले बताएका छन् । पेट्रोल नभए त्यही जग्गामा उद्योगधन्दा खोल्ने वातावरण बनाउनुपर्ने स्थानीय रबिन थापाले बताए । पेट्रोलियम अन्वेषणसम्बन्धी चीन सरकारको ६ सदस्यीय टोलीले पेट्रोल खानीको अवलोकनसमेत गरिसकेको छ । भारतले गरेको नाकाबन्दीका वेला सुरु भएको पेट्रोल खानीबारे बहसमा नेताहरूले समेत चासो देखाएका छन् ।

‘सरकारले जिम्मा लिनुपर्छ’
खानीबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताउँदै सांसद ढकालले अब बन्ने सरकारले यसको जिम्मेवारी लिनुपर्नेमा जोड दिए । ३५ वर्षअघि अन्वेषण गर्न ल्याइएका उपकरणसमेत अहिले त्यस क्षेत्रमा छैनन् । ती उपकरणबारे कसैलाई जानकारी छैन । पेट्रोल खानीको हल्ला भएसँगै यसको रेखदेख गर्न एकजना कर्मचारी खटिएका छन् । उनलाई सरकारले तलब सुविधासहित खटाएको हो ।
विभिन्न उपकरण तथा अन्य सामग्री राख्न बनाइएको टहरोसमेत जीर्ण बनेको छ । पेट्रोल खानीको करिब ६ बिघा जग्गामा तारले घेरेको भए पनि अहिले स्थानीयले यसलाई गौचरणका रूपमा प्रयोग गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!