संगालोखबर संवाददाता

पोखरा,२१ पुस। कतैबाट अवरोध नआए अबको एक वर्षभित्र पोखरा रंगशाला मुलुककै नमुना रंगशाला बन्नेछ । खेलमैदान र प्यारापिटसहितको रंगशाला बनाउने गरी पूर्वाधार निर्माणलाई गति दिन थालिएको छ । पोखरामा बन्ने नयाँ रंगशाला मुलुककै सर्वाधिक सुविधासम्पन्न हुनेछ । डोमसहितको फुटबल मैदान यहाँ तयार हुनेछ ।

Advertisement

नयाँ पूर्वाधार बनाउने योजनासहित पुरानो रंगशाला धमाधम भत्काउने काम चलिरहेको छ । पुरानो रंगशालाको सर्वसाधारण दर्शक बस्ने प्यारापिट भत्काउने कामलाई तीव्रता दिइरहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । रंगशालाको पुरानो संरचना भत्काएर पूरै नयाँ बनाउने योजना रहेको उनले बताए । ‘नयाँ पूर्वाधार बनाउन पुरानो प्यारापिट पूरै भत्काउन थालिएको छ । एक महिनाभित्र पुरानो पूर्वाधार भत्काएर समथर मैदान तयार हुनेछ,’ अध्यक्ष पौेडेलले भने, ‘त्यसपछि बल्ल निर्माणको काम सुरु हुनेछ ।’

१३औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै पोखरा रंगशालाको पुरानो संरचना भत्काउने कामलाई तीव्रता दिएको उनले बताए । सागलाई लक्षित गरेर नयाँ पूर्वाधार बनाइने अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार रंगशाला निर्माणका लागि पहिलो चरणको काम सुरु गरिएको छ । रंगशालाभित्र रहेको फुटबल मैदानका दुईवटा प्यारापिट (भीआइपी र सर्वसाधारण) भत्काएर सम्याउनका लागि १ महिना लाग्ने पौडेलले बताए । दुई सातादेखि भत्काउने काम भइरहेको छ । हालको प्यारापिटसँग १८ सय र भिआईपी प्यारापिटसँग ५ सय दर्शक क्षमता छ । पोखराको यो रंंगशाला मर्मतसम्भार नहुँदा दर्शकले समस्या भोग्नुपरेको थियो ।

उनका अनुसार प्यारापिट भत्काउने जिम्मा काठमाडौंको जेपिए निर्माण कम्पनीले पाएको छ । जेपिएले १ महिनाभित्र भत्काइसक्ने र त्यसपछि बल्ल निर्माणको काम सुरु हुनेछ । ‘अबको एक महिनाभित्र भत्काएर मैदान सम्याउने हो,’ उनले भने । भत्काउनका लागि मात्र ४४ लाख रुपैयाँ खर्च हुने उनले बताए । ५० जना कामदार पुराना संरचना भत्काउन खटिएका छन् । ‘भत्काउने कामसँगै ग्लोबल टेन्डरबाट निर्माण कम्पनी छान्ने हो,’ पौडेलले भने, ‘डोमसहितको रंगशाला बनाउन अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय निर्माण कम्पनीले टेन्डर हालेका छन् । तर, छनोट भइसकेका छैनन् ।’ ६ वटामध्ये सबैभन्दा कम लगानीमा पूर्वाधार निर्माण गर्ने गरी एउटा कम्पनी छान्ने उनले बताए । ‘सागलाई लक्षित गरेकाले कुनै पनि हालतमा कामलाई तीव्रता दिइन्छ,’ उनले भने ।

टेन्डरअनुसार फुटबल रंगशाला बनाउन १ अर्ब ३३ करोड रुपैयाँ लाग्नेछ ।

उनका अनुसार रंगशालामा फुटबल मैदान, सर्वसाधारण दर्शक बस्ने डोमसहितको प्यारापिट, भिआइपी प्यारापिटसहितका पूर्वाधार बन्नेछन् । पौडेलले एक वर्षभित्र रंगशालामा रहेको फुटबल स्टेडियम अत्याधुनिक सुविधायुक्त बन्ने बताए । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै सुविधा हुनेछन्,’ उनले भने, ‘साग गेम खेलाउनका लागि जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा जुटेका छौं । जहाँँ पानी परेको बेलामा पनि सहजै फुटबल खेल्न मिल्नेछ ।’ सर्वसाधारण र भीआइपी गरी ३५ हजार दर्शक क्षमताको रंगशाला बन्ने उनले बताए । सरकारले रकम दिने निश्चिन भएपछि मात्र ग्लोबल टेन्डर आह्वान गरेको उनले बताए । टेन्डरअनुसार फुटबल रंगशाला बनाउन १ अर्ब ३३ करोड रुपैयाँ लाग्नेछ ।

२०४५ साल र २०७२ सालको भूकम्पले भिआइपी र सर्वसाधारण दर्शक बस्ने प्यारापिटलाई चर्काएको थियो । २०७२ को भूकम्पले प्यारापिटको माथिल्लो तलाको ढलान, बिम र पिलर चर्केको छ । चर्केको भागबाट भित्र हावा पस्दा रडमा खिया लागेको छ । २०३८ सालमा निर्माण भएको प्यारापिट भूकम्पले हल्लाएपछि प्राविधिक टोलीले खतरामा रहेको भन्दै रातो स्टिकर टाँसेको थियो ।
साग गेम २०१९ मार्च ९ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । महिला– पुरुष भलिबल, महिला–पुरुष फुटबल, आर्चरी, ट्रायथोलन, ह्यान्डबल र स्क्वास गरी ६ वटा खेल पोखरामा खेलाउने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को योजना छ । यसका लागि ८ राष्ट्रका २५ सयभन्दा बढी खेलाडी पोखरा आउने अनुमान गरिएको पौडेलले बताए ।

हाल रंगशालामा साढे २ करोड रुपैयाँँ लागतमा स्क्वास हल, एक करोड ८० लाखमा आर्चरी, २ करोड ५० लाखमा ह्यान्डबल र २० करोड रुपियाँको लागतमा बहुउद्देश्यीय कभर्डल निर्माण भइरहेका छन् । पौडेलका अनुसार कभर्ड हलको निर्माण दुई महिनाभित्र सकिनेछ । यसभित्र मार्सलआर्ट, भलिबल, बास्केटबल, ह्यान्डबललगायतका खेल खेल्न मिल्नेछ । यसको साथै खेलाडीलाई खेल खेल्नुभन्दा अघि चाहिने पूर्व अभ्यास ग्राउन्ड (वार्मअप) को पनि यहाँका विभिन्न ठाउँमा छनोट गरिएको पौडेलले बताए ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएसँगै पोखरा रंगशालामा खेल खेलाइन थालिएको हो । त्यसपछि वर्षेपिच्छे विभिन्न क्लबबाट खेल हुन थाले । हाल ४ सय १७ रोपनीमा फैलिएको रंगशाला मुलुकै दोस्रो ठूलो हो ।
आहा–रारालाई असर
रंगशाला भत्काउन थालेपछि सहारा क्लबको आयोजनामा आगामी माघ ९ गतेदेखि पोखरा रंगशालामा आयोजना हुने १६औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगितालाई अप्ठेरो पर्ने देखिएको छ । गोल्डकपको तयारीकै क्रममा रंगशालाको प्यारापिट भत्काउँदा असर पर्ने चिन्ता खेलप्रेमीको छ ।

क्षेत्रीय अध्यक्ष पौडेलले गोल्डकप रोक्ने उद्देश्य समितिको नभएको बताए । ‘हाल पुराना संरचना भत्काए पनि अस्थायी प्यारापिट राखेर खेल सञ्चालन गर्न मिल्नेछ,’ उनले भने, ‘भत्काउँदा निस्किएका निर्माण सामग्री व्यवस्थापन गरी खेल खेल्न सहज बनाइनेछ ।’

रंगशालाको प्यारापिट भत्काइरहँदा मैदानमा भने सहारा क्लबले पानी छर्केर तयारी गरिरहेको छ । सहारा क्लबका अध्यक्ष केशव थापाले दर्शक बस्ने प्यारापिट भत्काउँदा प्रतियोगितालाई अप्ठेरो परे पनि पोखराका लागि आवश्यक पूर्वाधार बनाउन थालेकोले यो पटक असहज हुँदाहुँदै पनि प्रतियोगिता गर्ने बताए । ‘पोखरामा पूर्वाधार बनाइने भएकाले एउटा संस्करणका लागि दुख खेपेर भए पनि प्रतियोगिता गर्छांै’ थापाले भने, ‘नयाँ बन्ने पूर्वाधार हाम्रै लागि हो । त्यही भएर यो पटक अप्ठेरोकाबीच पनि प्रतियोगिता हुन्छ । पूर्वाधार बनाउने आवश्यकता हामीले नै महसुस गरेका छांै ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement