संगालोखबर संवाददाता

सर्लाही, ७ पुस । मंगलबार बिहानै छोराले बुबा म भोलि (बुधबार) घर आउँछु भनेर फोन गरे । छोरा आउने भएपछि बुबाले बिहान ७ बजेतिरै एउटा सामान ल्याइदिन फोन गरे । तर, फोन उठेन । वीरगन्जस्थित सुपर ग्यास उद्योगमा बुधबार बिहान आगलागी हुँदा ज्यान गुमाएका वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यरत अग्नि नियन्त्रक यादवप्रसाद अधिकारीका बुबा टीकाप्रसादले भक्कानिँदै भने, ‘धेरैपटकको फोन नउठेपछि गरिन् ।’ बिहान साढे ९ बजेतिर इलामबाट भान्जाले वीरगन्जमा भीषण आगलागी भएको र छोरा यादव आगो निभाउन गएको खबर सुनाए । त्यसपछि टीकाप्रसादले अत्तालिँदै महानगरपालिकाको वारुणयन्त्र शाखाका निमित्त प्रमुख शेरबहादुर कार्कीलाई फोन गरे । उनले नसोचेको खबर सुनाए– आगो निभाउने क्रममा यादव रहेनन् ।

Advertisement

यादवको पर्खाइमा बसेका परिवारले मृत्युको खबर सुनेपछि रुवावासी चल्यो । गाउँभरिका मानिस र आफन्त जम्मा भए । सम्हालिँदै मृतकका बुबा टीकाप्रसाद र श्रीमती रञ्जु पौडेल (अधिकारी) यादवको शव बुझ्न वीरगन्ज पुगे । जलेर हाड मात्रै बाँकी रहेको यादवको शव बुझेर बागमती खोलामा अन्तिम संस्कार गरे ।

१७ वर्षदेखि अग्नि नियन्त्रक
मृतक यादव एक महिनाअघि मात्रै घर आएका थिए । ४१ वर्षका यादव १७ वर्षदेखि वीरगन्ज महानगरपालिकामा अग्नि नियन्त्रकका रूपमा कार्यरत थिए । ठाकुर बहुमुखी क्याम्पसमा पढ्दापढ्दै उनले जागिर खाएका हुन् । सर्लाहीको साबिक भक्तिपुर गाविस–९ घर भएका उनको परिवार गत असारमा घरघडेरी बेचेर लालबन्दीमा डेरमा बस्दै आएको छ । मृतक यादवका श्रीमती, तीन छोरी र एक छोरा छन् । छोरा दुई वर्षको मात्रै रहेकाले साइँलो काका रामप्रसाद र श्रीमती रञ्जु कोरामा बसेका छन् । मृतकका छोरीहरू पनि सानै छन् । जेठी छोरी १३ वर्ष, माइँली छोरी १० वर्ष र कान्छी छोरी ६ वर्षकी छन् । कलिला बालबालिकाका बुबाको मृत्युले गाउँले पनि स्तब्ध छन् । टीकाप्रसादका दुई छोरामध्ये कान्छो छोरा कमल अधिकारी वैदेशिक रोजगारीका क्रममा हाल मलेसिमामा छन् ।

घर बनाउने सपना अधूरै
मृतक यादवका परिवारले लालबन्दीमा भर्खरै ८ धुर जग्गा किनेका छन् । ‘भर्खरै जग्गा किनेका थियौँ । अब घर बनाउने तयारी थियो,’ मृतकका बुबा टीकाप्रसादले भने, ‘घर बनाउने सपना त अधूरै रह्यो, अब यी स–साना लालाबालाको कसले पालनपोषण गर्ने ?’ उनले ग्यास उद्योग र सरकारी निकायबाट सहयोगको आशा पनि गरेका छन् । मिलनसार र मिजासिला यादवको निधनले उनको गाउँ भक्तिपुरसमेत शोकमग्न बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement