संगालोखबर संवाददाता

काठमाडौं, ७ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फकोे ७७ वटै जिल्लाको समानुपातिक निर्वाचन प्रणालीको परिणाम शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनको सातै प्रदेशको समानुपातिक प्रणालीतर्फको २ सय २० सिटको अन्तिम परिणाम आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको हो ।

Advertisement

आयोगका प्रवक्ता नवराज ढकालले प्रदेशसभातर्फको समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको भन्दै शुक्रबार सार्वजनिक गरिने बताए । ‘आयोगले सातै प्रदेशको प्रदेशसभातर्फको समानुपातिक प्रणालीको परिणामको अन्तिम व्यवस्थापन गर्ने काम गरिरहेको छ, शुक्रबारसम्म परिणाम सार्वजनिक हुन्छ,’ प्रवक्ता ढकालले राजधानीसँग भने ।

आयोगले प्रदेशसभातर्फ दलहरूले प्राप्त गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल मतलाई जोडेर दलहरूलाई सिट बाँडफाँट गर्न लागेको हो । आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले सोबारे अन्तिम तयारी गरिरहेको जनाएको छ ।

प्रदेशसभातर्फ कुल २ सय २० सिटमध्ये प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ सिट बाँडफाँट हुने आयोगले जनाएको छ ।

प्रदेशसभातर्फ कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका उम्मेदवार मात्र प्रदेश सांसदका रूपमा निर्वाचित हुनेछन् तर प्रदेशसभाका लागि दलहरूलाई तोकिएको थ्रेस होल्ड १ दशमलव ५ प्रतिशतभन्दा कम मत ल्याउने दलहरू प्रदेशसभाको समानुपातिकतर्फको रिङबाट आउट हुनेछन् ।

प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले कुल खसेको सदर मतको गणना गरी प्रत्येक दलले प्राप्त गरेको मत खुलाई आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले सोही व्यवस्थाअनुसार नै परिणाम सार्वजनिक गर्ने तयारीमा जुटेको हो ।

आयोगले यसरी दलहरूलाई सिट बाँडफाँट गर्दा कुनै सिटमा दलले बराबर मत प्राप्त गरेको अवस्थामा गोलाप्रथाद्वारा समेत सो सिटको टुंगो लगाउनेछ । यसरी दलहरूले प्राप्त गर्ने सिटको टुंगो लागेपछि दलहरूले समावेशिताका आधारमा आफूले पठाउने उम्मेदवारको टुंगो लगाउनेछन् भने आयोगले दलहरूका लागि दिएको समयभित्र दलहरूले आफ्नो तर्फबाट बन्दसूचीमा नाम समावेश भएको क्रमअनुसार आयोगमा उम्मेदवारको नाम पठाउनेछन् । यसपछि दलहरूले प्राप्त गरेको मत र उम्मेदवारको नामसमेत समावेश गरी आयोगले समानुपातिकतर्फ निर्वाचित भएका उम्मेदवार घोषणा गर्नेछ । त्यसपछि सो नाम आयोगले प्रदेश प्रमुखसमक्ष पठाउनेछ भने निर्वाचित उम्मेदवारको नाम राजपत्रमा प्रकाशितसमेत गर्नेछ ।

प्रतिनिधिसभाको अझै केही दिन लाग्ने

निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको २ सय २० सिटको दलहरूले पाउने भाग टुंगो लगाउने तयारी गरे पनि प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम भने अझै केही दिनपछि मात्रै टुंग्याउने भएको छ । आयोगका प्रवक्ता नवराज ढकालले पहिले प्रदेशसभाको सकेर त्यसपछि मात्रै प्रतिनिधिसभातर्फको चेकजाँच गरिने भएकाले अझै केही दिन लाग्ने बताएका हुन् ।

उनले आयोगले धमाधम काम गरिरहेको भन्दै प्रदेशतर्फको परिणाम टुंगाएपछि मात्रै प्रतिनिधिसभातर्फको टुंगो लगाइने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement