नयाँ पत्रिका

मोटोपनको समस्या बर्सेनि बढ्दै –
नेपालमा मोटोपनको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय गरिएको अध्ययनले देशका ३९ प्रतिशत मानिस मोटोपनको सिकार बनेका देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा उल्लेख भएअनुसार हरेक वर्ष नेपालमा मोटोपनको समस्या बढिरहेको छ । सर्वेक्षणले पुरुषमा भन्दा मोटोपनको समस्या महिलामा बढी देखाएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेका नेपाल निर्देशक योगेन्द्र प्रसार्इंले नेपालमा महिलाहरू मोटोपनको सिकार बन्दै गएका बताए । सरकारले समेत यो सर्वेक्षणलाई आधिकारिक मान्ने गरेको छ । यही रिपोर्टका आधारमा सरकारले स्वास्थ्यसम्बन्धी आगामी कार्ययोजना बनाउने गरेको छ ।

Advertisement

मोटोपनको समस्या महिलामा बढी
स्वास्थ्य मन्त्रालय, न्यु एरा र आइसिएफले गरेको सर्वेक्षणमा २२ प्रतिशत महिला मोटोपनको सिकार भएको देखाइएको छ । निर्देशक प्रसार्इंले महिलाको तुलनामा पुरुषमा मोटोपनको समस्या कम पाइएकोे बताए । देशका १७ प्रतिशत पुरुष मात्रै मोटोपनको समस्याबाट पीडित छन् । नेपालमा २००६ सम्म नौ प्रतिशत महिलामा मात्रै मोटोपनको समस्या थियो । २०११ मा आइपुग्दा यो बढेर १३ प्रतिशत पुगेको थियो । अहिले मोटोपनको समस्या बढेर २२ प्रतिशत पुगेको प्रसाईंले बताए । न्यु एराले नेपालका पुरुषहरूमा पहिलोपटक सर्वे गरेको जनाएको छ । प्रसार्इंले ६ हजार पाँच सय ६५ जना महिला र चार हजार तीन सय २९ जना पुरुषमा मोटोपनको अध्ययन गरिएको बताए । २५ वर्षमाथिका महिला र पुरुषको उचाइ र तौलका आधारमा मोटोपनको अवस्थाबारे अध्ययन गरिएको थियो ।

प्रदेश नम्बर ३ मा मोटोपनको समस्या बढी
अध्ययनले प्रदेश नम्बर ३ का नागरिकमा मोटोपनको समस्या बढी देखाएको छ । जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीका अनुसार धनी र गरिबभन्दा पनि मध्यम वर्गका मानिस मोटोपनको सिकार बन्दै गएका छन् । ‘यो सरकारी मान्यताप्राप्त रिपोर्ट हो । यही रिपोर्टलाई आधार मानेर योजना तयार गरिन्छ,’ उनले भनिन्, ‘जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ खानपान, जंकफुडजस्ता वस्तुको सेवनले मोटोपन बढ्दै गएको छ । यसप्रति हामी समयमै सचेत बन्नुपर्छ ।’

२० हजारभन्दा बढीले मोटोपनको उपचार गरे
स्वास्थ्य मन्त्रालयअन्तर्गतको सूचना व्यवस्थापन शाखाका अनुसार चालू आर्थिक वर्षमा देशभर २० हजार पाँच सय पाँच जनाले मोटोपनको उपचार गराएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालको सहयोगमा तयार पारेको रिपोर्टका अनुसार यस वर्ष मोटोपनको समस्या भएका धेरै नागरिकले स्वास्थ्योपचार गराएका छन् । चिकित्सकका अनुसार मोटोपन एक प्रारम्भिक मृत्युको जोखिम पनि हो । शाखाका निर्देशक मुक्तिनाथ खनालले २०७३-०७४ मा ११ हजार ६ सय ८९ महिला र आठ हजार आठ सय १६ जना पुरुषले मोटोपनको उपचार गराएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement