संगालोखबर संवाददाता

रसुवा, ५ पुस । प्राकृतिक रूपमा अति सुन्दर लाङटाङमा तीन वर्षदेखि गहिरो शोकमा थियो । एकाबिहानै लाग्ने घामले टलक्क टल्किँदै हिमाल खुल्थ्यो । तर, लाङटाङवासीको मन भने कहिल्यै खुल्न सकेन । उनीहरूको मनमा घरीघरी आफन्त गुमाएको पीडा छाइनै रह्यो ।

०७२, १२ वैशाखमा गएको महाभूकम्पले लाङटाङको ऊर्जा अनि खुसी सदाका लागि खोसेर लगेको थियो । त्यस दिन लाङटाङमा एक सय ७५ नेपाली नागरिकसहित पाँच सय मानिस एकै चिहान बनेका थिए । त्यही दृष्य बाँचेका जति सबैको आँखामा सधैँ झल्किरहेको थियो । त्यसयता लाङटाङमा मानिस त बसिरहेका थिए, तर उनीहरू यान्त्रिकजस्तै थिए । काम त गर्थे तर आराम र मनोरञ्जनको तिर्सना हराइसकेको थियो । खुसीयाली साटने र मनोरञ्जन बिर्सिएका लाङटाङबासीमा मंगलबार एकाएक मनोरञ्जन गर्ने चाह भयो ।

Advertisement

अनि गुञ्जियो पहिलोपटक तामाङ सेलो । वाम गठबन्धनको चुनावी नेतृत्व सम्हालेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भूकम्पपीडितको पीडामा मलम लगाउन आएको पाएपछि उनीहरूमा बिर्सिसकेको मनोरञ्जनको याद दिलायो ।

अति व्यस्थ र ठूला नेता, जो अबको प्रधानमन्त्री बन्दै छन्, उनै नेता आफूहरूबीच पीडामा मलम लगाउन आइपुग्दा ओलीका लागि लाङटाङवासीले सायद अब कहिल्यै मनोरञ्जन नगर्ने भनेर लिएको अठोट भुले । अनि गुञ्जाए तामाङ सेलो । भूकम्पको पीडा भुलाउन आयो एमाले भन्ने आवाज जब घन्कियो, जनताबीच पुगेर एमाले उपमहासचिव विष्णु पौडेल एकाएक नाच्न थाले ।

पौडेल नाच्न जानु अगावै नाचको लयमा साथ दिइरहेका एमाले अध्यक्ष ओलीले आफूसँगै रहेका महासचिव ईश्वर पोखरेलको हात समाते । अनि नाच्न थाले । आन्तरिक घातको सिकार भई थोरै मतले चुनाव हारेका पूर्वसांसद जनार्दन ढकाल भने नाच्न छाडेर यो दृष्य कैद गरे । खतिवडाको काम देखेर ओलीले भने, ‘लौ यो फोटो भाइरल बन्ने भो ।’ ओलीको यो ठट्टासँगै तत्कालै खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा ओली–पोखरेल नाचेको फोटो पोस्ट गरिदिए ।

‘लाङटाङमा तीन वर्षपछि पहिलोपटक मनोरञ्जन भयो, भूकम्पयता पहिलोपटक लाङटाङ हाँस्यो, अध्यक्ष कमरेड सहितका नेताहरूले पीडितको पीडा भुलाउनुभयो,’ रसुवा एमालेका नेता तथा पूर्वसांसद जनार्दन ढकालले भने । एमाले नेताहरूको रसुवा भ्रमणको व्यवस्थापन ढकालले नै गरेका हुन् । उनकै आग्रहमा रिफ्रेस हुन र लाङटाङवासीको पीडामा मलम लगाउन ओली पार्टीका हस्तीहरू लिएर रसुवा उडेका थिए ।

एमाले अध्यक्ष ओली मंगलबार बिहानै महासचिव पोखरेलसहित उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेललाई लिएर लाङटाङ निस्किएका हुन् । हिमाल हेर्न अति रुचाउने ओली लाङटाङवासीको पीडामा साथ दिन र हिमालयको दृष्यावलोकन गर्न रसुवा उडेका थिए । ओलीले लाङटाङसँगै छिमेकी मित्रराष्ट्र चीनसँगको केरुङ नाका पनि निरीक्षण गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement