इलाम, २० मंसिर । जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गर्नुभएका सुलुबुङ–५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त छन्।
अहिले फल टिपाइ शुरू भएको छ। बिक्रीका लागि बजारसम्म पुर्याउनु पर्ने भएकाले उनलाई अन्य काम भ्याउनै मुस्किल छ। उत्पादनको शुरूमै प्रतिकिलो रु ३०० देखि रु ४०० मा किनबेच हुन थालेको किबी फल संकलनको तयारीमा लागेका खतिवडाले यसपालि विराटनगर, काठमाडौँ, पोखरा लगेर बिक्री गर्ने तयारी गरेको बताए।
किबी फल प्रतिकिलो ए ग्रेडको रु ४०० र बी ग्रेडको रु ३०० मा बिक्री हुन थालेको छ। जिल्लाको सुलुबुङ, साँखेजुङ, लुम्दे, साङरुम्वा, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिकाको मावु, माईमझुवा र जमुना तथा इलाम नगरपालिकाको सुम्वेक र आमचोकमा यसको व्यावसायिक खेती गरिँदै आएको छ।
यसपटक फल लागेको बेलामा असिनापानी परेका कारण उत्पादन घटेको खतिवडाले बताए। गत वर्ष आठ हजार किलो किबी फल उत्पादन गरेका खतिवडाले यसपटक त्यसको आधामात्र उत्पादन भएको बताए।
अलैँचीखेती मासेर १६ रोपनी बारीमा किबी फल लगाएका साँखेजुङका टेकबहादुर विष्टले यस वर्ष १० क्विन्टल उत्पादन भएको बताए। गत वर्ष रु चार लाख बराबरको किबी बिक्री गर्नुभएका विष्टले यसपटक रु तीन लाखको बिक्री गर्ने लक्ष्य राखेका छन्।
किबी फस्टाएपछि व्यावसायिक चिया र गाईपालन गर्दै आउनुभएका विष्टलाई नयाँ खेतीप्रति मोह बढ्दै गएको छ। किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत बनाएका छन्। फलभन्दा पनि बिरुवा बढी मूल्यमा बिक्री हुने गरेको उनी बताउँछन्। एउटा बिरुवा रु ३०० सम्ममा बिक्री हुने गरेको छ।
गत वर्ष चार क्विन्टल किबी फल बिक्री गर्नुभएका आमचोकका टठबहादुर पाण्डेले पनि यसपालि उत्पादन घटेको बताए। यसपटक उनले करिब एक मन मात्र बिक्री गरेको उल्लेख गरे। किबी फल उत्पादनमा जिल्लाका करिब २४ हजार घरपरिवार संलग्न छन्। एउटै बोटबाट कम्तीमा २०० देखि २५० किलो किबी फल्ने गरेको कृषक बताउँछन्।