लमजुङ,३ मंसिर । व्यावसायिक रूपमा पशुपालन गरिन थालेसँगै लमजुङ दूध उत्पादनमा आत्मर्निभर बन्न थालेको छ । प्रत्येक वर्ष दूध उत्पादन बढेसँगै जिल्ला दूधमा आत्मनिर्भर हुँदै गएको जिल्ला पशुसेवा कार्यालय लमजुङले जानकारी दिएको हो ।

Advertisement

व्यावसायिक पशुपालनले बढायो उत्पादन
जिल्लामा पछिल्लो समय किसानले उन्नत जातका गाईभैँसी पाल्न थालेका छन् । संख्यात्मक रूपमा किसान संख्या धेरै वृद्धि नभए पनि गुणात्मक रूपमा दूध उत्पादन बढ्दै गएको जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत लक्ष्मणबहादुर ढकालले जानकारी दिए ।

लमजुङका बेँसीसहर, बाँझाखेत, भलायखर्क, धमिलीकुवा, दुराडाँडा, परेवाडाँडा सुन्दरबजार, भोटेओडार र रम्घा क्षेत्रका किसानले व्यावसायिक पशुपालन गर्दै आएको उनले बताए ।

४.४३ प्रतिशत दूध उत्पादन वृद्धि
लमजुङमा आव ०७३-७४ मा १६ हजार मेट्रिकटन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताए । ‘यहाँको दूध उत्पादनको अवस्था प्रत्येक वर्ष बढेको छ,’ घिमिरेले भने, ‘अघिल्लो वर्षभन्दा ३.९ प्रतिशत दूध उत्पादन वृद्धि भएको देखिएको छ ।’

डेढ अर्बभन्दा बढीको दूध उत्पादन
घिमिरेका अनुसार गत आवमा लमजुङमा डेढ अर्बभन्दा बढीको दूध उत्पादन भएको थियो । लमजुङ बजारमा अहिले दूधको मूल्य औसत ५० देखि १२० रुपैयाँ प्रतिलिटर छ ।

उत्पादित दूध यहाँका जनसंख्यालाई आवश्यकभन्दा बढी भएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. लक्षमणबहादुर ढकालले बताए । उनले भने, ‘विश्व स्वास्थ्य संगठनले एक व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध आवश्यक पर्छ भनेको छ । यहाँ उत्पादन भएको दूध प्रतिव्यक्ति ९४ लिटर छ ।’

उन्नत पशुपालनमा आकर्षण
एउटै लगानीमा धेरै आम्दानी हुने भएपछि किसान उन्नत जातका पशुपालनमा आकर्षित भएका छन् । किसानले जर्सी जातका गाई, होलिस्टिन, मुर्रा जातका भैँसी पाल्दै आएका छन् ।

उन्नत जातका गाईले दैनिक २० लिटरसम्म दूध दिने भएकाले किसानको पहिलो रोजाइमा परेको हो । किसानलाई पशुपालनमा आकर्षित गर्न कार्यालयले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले व्यावसायिक रूपमा फर्म सञ्चालन गर्ने कृषकलाई गोठ सुधार, घाँसको बिरुवा, बेर्ना, मिल्क एनालाइजर, विद्युतीय मदानी, भ्याक्सिन तथा जुकाको औषधि, शिविर र तालिम अनुदानमा दिने गरेको छ ।

जिल्लामा स्थानीय र उन्नत जातका ८ सय ५६ वटा गाई रहेका छन् । वर्णशंकर जातका ५ सय ३८ र स्थानीय १३ सय ७४ गरी २७ सय ६८ वटा दुहुना गाई छन् । जिल्लामा स्थानीय जातका भैँसी १० हजार ७ सय १८, वर्णशंकर जातका ४ हजार ५ सय ७५ र उन्नत जातका १ हजार ५ सय गरी १६ हजार २ सय ९८ दुहुना भैँसी छन् ।

पशु बिमाबाट किसान लाभान्वित
पशुपालनमा क्षति न्यूनीकरण गर्न किसानले पशुको बिमा गर्न थालेका छन् । गाईभैँसीको मूल्य बढिरहेको अवस्थामा रोगव्याधिबाट पशु मरे क्षतिबाट जोगिन किसानले पशु बिमा गर्न थालेका हुन् । ‘थोरै प्रिमियम तिरेर बिमा गर्दा पशुको मृत्यु भएमा किसानलाई कम भार पर्छ,’ प्रमुख डा. ढकालले भने, ‘व्यावसायिक पशुपालन गर्ने किसानलाई पशु बिमा अनिवार्य भएको छ ।’

पशु बिमा कार्यक्रममा किसानलाई अनुदान दिने व्यवस्था पनि छ । स्थानीय सहकारी र समूहमै बिमा गर्ने व्यवस्था मिलाइएको छ । वार्षिक प्रिमियम बुझाएर बिमा गर्न किसान उत्साहित छन् ।

दुग्ध प्रशोधन केन्द्र
जिल्लाको मध्यभागमा रहेको सुन्दरबजार, भोटेओडारको धारापानीमा दुग्ध प्रशोधन केन्द्र स्थापना भएको छ । आरभा नेपाल मोर्डन एग्रिकल्चरले जिल्लामा उत्पादित दूध प्रशोधन गर्न केन्द्र स्थापना गरेको हो ।

प्रशोधन केन्द्र गत साउनेदखि सञ्चालनमा आएको आरभा नेपालका अध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए । उनका अनुसार हाल प्रतिदिन २ हजार लिटर दूध केन्द्रमा प्रशोधन गरिँदै आएको छ । दुग्ध प्रशोधन केन्द्र १० हजार लिटर दूध प्रशोधन गर्ने क्षमताको छ । प्रशोधन केन्द्र १ करोडभन्दा बढीको लागतमा स्थापना गरिएको कम्पनीका अध्यक्ष बजगाईंले जानकारी दिए ।

दैनिक ५० लिटर दूधबाट संकलन सुरु गरिएको केन्द्रमा हाल दैनिक ७ सय लिटरभन्दा बढी दूध संकलन हुन थालेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. ढकालले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!