काठमाडौं, २ मंसिर । दैलेखबाट १९ सय रुपैयाँ गाडी भाडा तिरेर नरबहादुर बस्नेत भृकुटी मण्डपमा हस्तकला मेला भर्न आइपुगे। तर उनी आफुले दैलेखदेखि ल्याएका भेंडाका रौंबाट बनेका राडिपाखी बिक्रि हुनेमा भने आश्वस्त छैनन्।

Advertisement

बढ्दो आधुनीकिकरणसँगै हामी नेपालीको ध्यान पनि विदेशी सामानतिर तानिँदै गएको छ। त्यसैले पनि हो, नेपाल हस्तकला महासंघले आयोजना गरेको १५औं हस्तकला मेलामा भेटिएका बस्नेत आफ्नो व्यापारप्रति अलि निरास देखिएका।

‘मैले एउटा राडीलाई १५ दिनसम्म लगाएर बनाएको छु तर यसलाई धेरैले मन पराउँदैनन्’, उनले भने, ‘भेंडाका रौंबाट बनेका राडी ओछ्याउँदा अलि चिलाएजस्तो त हुन्छ, तर हातले बनेकाले यसको आफ्नै विशेषता छ।’

आफैले बनाएका राडीका विशेषता देखाउँदै बस्नेत यस्ता राडी ओछ्याउँदा ग्यास्टिक र युरिक एसीडजस्ता रोग नियन्त्रण हुनसक्छ भन्छन्। ‘मान्छेहरुले महत्व नबुझेर मात्र राडीपाखि किन्न नरुचाएका हुन्’, उनको बुझाई छ।

भेंडाको उनबाट बनेका राडीपाखिको महत्व बुझाउनलाई भए पनि आफु यो प्रदर्शनीमा सहभागी भएको उनले बताए।

भेंडाको उनबाट राडीपाखि बनाउनु बस्नेतको पुख्र्यौली पेशा हो। बस्नेतसँगै दैलेखबाट प्रदर्शनीमा सहभागी हुन् आएका धनराज बोगटी भन्छन्, ‘सरकारले राडीपाखिको बजार व्यवस्थित गराइदिए हाम्रा पुर्खाले सिकाएको सीप लोप हुने थिएन।’

भृकुटीमण्डपमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरी सुरु भएको प्रदर्शनीमा सहभागी हुन् पूर्वी नेपालबाट कृष्णा कुमारी कुलुङ राई पनि आएकी छिन्।

अफ्नै हातले बनाएका सिस्नोका कपडा प्रदर्शन तथ व्यापार गर्न उनी भृकुटी मण्डप आएकी हुन्। उनको स्टलमा सिस्नोबाट बनेका सल, पर्स, व्यागहरू राखिएको छ।

३० वर्षदेखि यो पेशामा रहेकी राई भन्छिन्, ‘हामी यो प्रदर्शनीमा सिस्नोबाट बनेका कपडाको प्रचारप्रसार र व्यापार पनि गर्ने उद्देश्यले आएका हौं।’

प्रदर्शनीमा हस्तकलाका सामानका करिब २०० स्टल छन्, जसमध्ये एउटा स्टलमा ललितपुर घर भएका अर्जुन प्रसाद घिमिरे जिम्बु, जुम्लाको सिमी र स्याउ किन्न व्यस्त रहेको भेटिए।

‘घर परिवारलाई हाम्रै गाउँघरमा उत्पादन भएका बस्तुबारे जानकारी गराउन यो सामान किनेको हुँ’, घिमिरेले नेपालखबरसँग भने, ‘दुरदराजमा उत्पादन भएका सामान किन्न पाइने हुँदा यस्तो मेला एउटा राम्रो अवसर हो।’

मेलाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ‘हस्ताकलाको विकासले मात्र देशको आर्थिक समृद्धि र गरिबी निवारण हुने’ बताइन। ‘परम्परागत हस्तकलाका ज्ञान र सीपलाई प्रवद्र्धन गरी युवा पुस्तालाई यतातिर आकर्षित गर्नुपर्छ’, भण्डारीले भनिन्।

स्थानीय तहमा उत्पादन भएका हस्तकालाका सामानहरुको व्यवसायीकरण गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा चीन, जापान, भुटान, युएई लागयत १० भन्दा बढी देशका उपभोक्ताहरूको सहभागिता रहने जनाइएको छ।

‘हस्तकला समृद्धिका सम्भावना’ नाराका साथ शुरु भएको प्रदर्शनीमा २५ जिल्लामा उत्पादन भएका सामाग्री करिब २०० स्टलमा राखिएका छन्। मेलामा पस्मिना, थाङ्का पेन्टिङ, धातुकलाका सामान गरी ४२ भन्दा धेरै हातले बनाइएका सामानहरु रहेको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए।

‘५ दिनसम्म यो मेला चल्ने छ, र तीन लाखजतिले अवलोकन गर्ने तथा १० देखि १५ करोडको व्यापार हुने हाम्रो अपेक्षा छ’, शाक्यले भने।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले नयाँ पुस्तालाई हस्तकलाको व्यापारमा आकर्षित गराउन आवश्यक रहेको बताए।

अघिल्लो आर्थिक वर्षमा करिब १० अर्ब बराबरको हस्तकलाका सामाग्री निर्यात भएको शाक्यले जनाए। झण्डै १५ अर्ब लगानी रहेको यस क्षेत्रले ११ लाखलाई रोजगारी दिएको छ।

२०४८ देखि नै हस्तकला महासंघले नेपाली हस्तकलाको बजार विस्तार तथा प्रवद्र्धन गर्न यस्तो मेला आयोजना गर्दै आएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!