लोकतान्त्रिक गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले चुनावी तालमेलमा पञ्चायती पृष्ठभूमिका राप्रपा र राप्रपा (प्रजातान्त्रिक) लाई जत्तिपनि महत्व नदिएको देखिएको छ।
वामगठबन्धनसँग प्रत्यक्षतर्फ प्रतिनिधि सभामा २८ सिट माग गरेका भट्टराई कांग्रेससँगको तालमेलमा भने एक सिटमा चित्त बुझाउन बाध्य भएका छन्।
प्रतिनिधि सभामा दुवै राप्रपालाई ८ स्थानमा सहयोग गरेको नेपाली कांग्रेसले नयाँशक्तिका संयोजक भट्टराईलाई मात्र सहयोग गर्ने भएको छ। त्यही सिटपनि भट्टराईलाई दिइएकोमा गोरखा कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट छन्। आइतबारमात्र जिविसका पूर्व सभापति चन्द्रप्रसाद न्यौपानेले लगायतले भट्टराईलाई मत नदिने घोषणा गरेका छन्।
आफ्ना लागिमात्र प्रतिनिधि सभाको सिटमा कांग्रेसको समर्थन पाएका भट्टराई यति धेरै खुसी देखिन्छन् कि, नयाँशक्ति र कांग्रेस मिलनबाट नेपाली राजनीतिमा नयाँ प्रयोग सुरु भएको बताइरहेका छन्। तर, कांग्रेसले पञ्चहरुको तुलनामा नयाँशक्तिलाई कति महत्व दिएको रहेछ भन्ने दुई राप्रपालाई उसले दिएको सिट संख्या हेर्दा थाहा हुन्छ।
संयोजक भट्टराईका लागिमात्र गोर्खा– २ छाडेको कांग्रेसले दुई राप्रपाका लागि ८ सिट छाडेको छ। राप्रपा अध्यक्ष कमल थापाका लागि मकवानपुर–१ का अलवा कांग्रेसले दैलेख–१, बाँके–२ र काठमाडौं–७ छाडिदिएको छ। यसैगरी राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा (सिन्धु–२), सुनिलबहादुर थापा (धनकुटा) बिक्रम पाण्डे (चितवन–३) र दीपक बोहोरा (रुपन्देही–३) गरी चार सिट छाडेको छ।
वाम गठबन्धनसँग भने भट्टराईले आफ्ना लागि गोरखा–२ का अलवा परशुराम खापुङ (ते¥हथुम), देवीप्रसाद ओझा (झापा–२), हिसिला यमी (काठमाडौं–६), भाइराजा पाण्डे (काठमाडौं–१०), प्रेम तामाङ (रसुवा), सोनामसिंह स्याङ्तान (मकवानपुर–२), देवेन्द्र पराजुली (लमजुङ), दानबहादुर चौधरी –कपिलवस्तु–१), चिनक कुर्मी (परासी २), नवराज सुवेदी (प्यूठान), रामकृष्ण बुढ्थापा (जुम्ला), कृष्णकुमार चौधरी र भीम कडायत (कैलाली), ठाकुर चापागाइँ (नवलपुर) गरी २८ सिट माग गरेका थिए।
चापागाइँको विकल्पमा भट्टराईले कांग्रेसको समानुपातिक सूचीमा परेका उद्योगपति विनोद चौधरीका लागि पनि नवलपुर माग गरेका थिए। वामगठबन्धनसँग उपरोक्त सिटका लागि प्रतिष्ठाका विषय बनाएका भट्टराईले प्रदेश सभामा पनि ५० सिट माग गरेका थिए। माग गरेबमोजिम नपाएपछि वामगठबन्धनबाट अलग भएका उनले कांग्रेससँग गठबन्धन गरे। आफ्ना लागि गोर्खा–२ र प्रदेश सभामा दुई सिट (गोर्खा र रसुवा) दिन कांग्रेस राजी भएपछि उसैसँग गठबन्धन गरे।
नयाँशक्तिका नेता देवीप्रसाद ओझाका भनाईमा, कांग्रेसको प्राथमिकतामा मधेशवादी दलहरु परेकाले नयाँशक्तिले धेरै सिट पाउन नसकेको हो। नेपालखबरसँग ओझाले भने, ‘कांग्रेसको ध्यान अन्तिमसम्मपनि मधेशकेन्द्रित दलहरुसँग तालमेल गर्नेमा थियो। उनीहरुसँग तालमेल नभएपछि उसले हामीलाई त्यति धेरै ध्यान नै दिएन। त्यसैले, प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ सिटमात्र पायौँ।’
पहिलो चरणमा प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ सिट दिएको कांग्रेसले नयाँशक्तिका लागि दोस्रो चरणको निर्वाचनमा कुनै पनि सिट दिन चाहेन। नयाँशक्तिका एक नेताले नेपालखबरसँग भने, ‘आफ्ना लागि गोरखा–२ पाएपछि भट्टराईले पनि थप सिटका लागि त्यति धेरै अडान लिनु भएन।’-नेपालखबर