संगालोखबर संवाददाता

काठमाडौं, १४ कात्तिक । स्विफ्ट ह्याक गरी चोरी गर्न खोजिएको अधिकांश रकम फिर्ता पाउन एनआईसी एसिया बैंक सफल भएको छ। ह्याकरले स्विफ्ट ह्याक गरी ४६ करोड ५७ लाख रुपैयाँ चोर्न खोजेकोमा सात करोड ५० लाख रुपैयाँमात्र लाख फिर्ता हुन बाँकी छ।

Advertisement

ह्याकरले जापान, अमेरिका, हङकङ, इङ्ल्यान्ड, जर्मनी र टर्कीमा रकम भुक्तानीको अर्डर गरेका थिए । राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनअनुसार जम्मा ३८ वटा भुक्तानीको अर्डर गर्ने प्रयास भएकामा ३१ वटा अर्डर सफल भएको थियो।

अर्डर भए पनि २३ वटा अर्डरको स्थानान्तरण सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी प्रावधानका कारण ब्लक भएको थियो। आठवटा अर्डरको रकम स्थानान्तरण भएको थियो । ह्याकरको खातामा पुगे पनि जर्मनीमा स्थानान्तरण भएको दुई करोड ९८ लाख १२ हजार रुपैयाँबराबरको रकम भुक्तानी नभई रोक्का छ।

जापानमा दुईवटा भुक्तानीमार्फत एक करोड ३२ लाख ८९ हजार र ५९ लाख ६५ हजार रुपैयाँबराबरको भुक्तानी लिएका थिए । चीनबाट दुई करोड २४ लाख ४१ हजार रुपैयाँ र इङ्ल्यान्डबाट ३५ लाख ३४ हजार रुपैयाँबराबरको भुक्तानी लिएका थिए।

‘राष्ट्र बैंकको छानबिन प्रतिवेदन फाइनल भए पनि स्वीकृतिको प्रक्रिया बाँकी छ’, बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । अनुसन्धान सकिएसँगै राष्ट्र बैंकले थप अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा लगाएको छ।

ह्याकरको खातामा जम्मा भए पनि भुक्तानी नभएको रकम राष्ट्र बैंकले स्थानान्तरण भएको देशको केन्द्रीय बैंकसँग सम्पर्क गरी रोक्का गराएको थियो, जुन फिर्ता हुने ठानिएको छ।

भुक्तानी भइसकेको रकम पनि भुक्तानी भएको देशको एजेन्सीमार्फत फिर्ता हुने सम्भावना छ। ‘ह्याकरको खातामा स्थानान्तरण भए पनि भुक्तानी नभएको रकम सजिलै फिर्ता हुने सम्भावना छ’, अनुसन्धानमा संलग्न राष्ट्र बैंक स्रोतले भन्यो, ‘भुक्तानी भएको रकमका लागि चाहिँ अलि जोड गर्नपर्ने हुन्छ।’

ह्याकरले रकम झिकेको देशका एजेन्सीले पैसा फिर्ता गराउन सहयोग गर्ने सम्भावना छ। ‘नाइजेरिया, फिलिपिन्स, केन्या आदि देशका बैंकका खातामा ह्याकरले रकम स्थानान्तरण गरे फिर्ता पाउन असम्भव हुन्छ’, स्रोतले भन्यो, ‘एनआईसी एसियाको पैसा जापान, चीन, इङ्ल्यान्ड, अमेरिकामा स्थानान्तरण भई भुक्तानी भएकाले फिर्ता हुने सम्भावना छ।’

स्रोतका अनुसार कतिपय देशमा बैंककै तलदेखि माथिसम्मका कर्मचारीमात्र होइन, केन्द्रीय बैंकको पनि मिलेमतो भएकाले स्थानान्तरण हुनेबित्तिकै ह्याकरले भुक्तानी पाइहाल्छन्, फिर्ता गराउन सहयोग पनि हुन्न। तर यहाँबाट चोरिएको पैसा यस्तो देशका बैंकमा पुगेका छन्, उनीहरूले पूरा सहयोग गर्छन्।

त्यहाँ सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनका प्रावधान कडाइका साथ पालन हुने भएकाले ह्याकरले आफ्नो खातामा जम्मा भएको रकम पनि पूरै झिक्न पाएनन् । बैंकका कर्मचारीको मिलेमतो पनि हुने सम्भावना एकदम कम हुन्छ । यसैले भुक्तानी लिइसकेको रकम पनि फिर्ता पाउन त्यहाँका एजेन्सीले सहयोग गर्ने विश्वास लिइएको छ।

थप अनुसन्धानका लागि राष्ट्र बैंकबाट पत्र प्राप्त भएको जनाउँदै सीआईबीले अनुसन्धान थाल्ने प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) पुष्कर कार्कीले बताए ।

राष्ट्र बैंकले थप अनुसन्धान गरिदिन आइतबार सीआईबीलाई पत्र लेखेको छ । एनआईसी एसियाले पनि सोमबार थप अनुसन्धानका लागि सीआईबीमा निवेदन दिएको छ । सीआईबीले इन्टरपोलमार्फत ह्याकरलाई कारबाही गराउन र तिनले भुक्तानी लिइसकेको रकम फिर्ता गराउन इन्टरपोलको सहयोग लिइने सीआईबी प्रमुख पुष्कर कार्कीले बताए।

‘ह्याकिङमा बैंकका कर्मचारीको संलग्नताको आशंका भए त्यसमा पनि अनुसन्धान हुनेछ’, उनले भने । एनआईसी एसियाले स्विफ्ट ह्याकको कारण ग्राहकलाई कुनै अप्ठ्यारो नपर्ने स्पष्ट पारिसकेको छ । असिस्टेन्ट सीईओ रोशन न्यौपानेका अनुसार उसले तुरुन्त अर्को स्विफ्ट एकाउन्टमार्फत कारोबार सुरु गरेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement