
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-३ स्थित सखुवागाछी चोकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । आइतबार राति करिब ११ः५० बजे चेकजाँचमा खटिएको प्रहरी टोलीले ट्रकबाट गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै प्रहरीले ट्रक चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र सोही स्थानका १८ वर्षीय सन्दीप राई छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा बन्दागोपीले छोपेर राखिएको अवस्थामा ८३ वटा बोरामा राखिएको २ हजार ५ सय ६६.५६ किलो गाँजा बरामद भएको सुनसरी प्रहरीका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिए ।
ट्रक र गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । यस विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 




















