संगालोखबर

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समितिको बैठक पहिलो पटक काठमाडौं बाहिर विराटनगरमा बसेको छ । उद्योग संगठन मोरङमा समितिका सभापति उज्जल श्रेष्ठको संयोजनमा सम्पन्न बैठकमा कोशी प्रदेशका उद्योगी-व्यवसायीले भोगिरहेका समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल भएको हो ।

बैठकमा उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले काठमाडौं बाहिर आएर उद्योगी-व्यवसायीका समस्या प्रत्यक्ष सुन्ने महासंघको अभ्यासले निजी क्षेत्रको वास्तविक अवस्थालाई राष्ट्रिय नीतिगत बहससँग जोड्न महत्वपूर्ण सहयोग पुग्ने बताए ।

महासंघ निजी क्षेत्रको सामूहिक आवाज भएकाले उद्योग-व्यवसाय क्षेत्रका समस्यालाई तथ्य, तथ्यांक, अनुसन्धान तथा समाधानका विकल्पसहित सरकार समक्ष प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष राठीले उद्योग क्षेत्रले कमजोर बजार माग, उच्च उत्पादन लागत लगायतका समस्याको समाधानका लागि सरकार र निजी क्षेत्रबीच परिणाममुखी संवाद आवश्यक रहेको उल्लेख गरे ।

उद्योग समितिका सभापति उज्जल श्रेष्ठले उद्योगी-व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने, उद्योग भ्रमण गर्ने तथा स्थानीय तहमा देखिएका समस्या नीतिगत तहमा पु¥याउने अभ्यासलाई समितिले निरन्तरता दिने बताए ।

काठमाडौं बाहिर आएर उद्योगी-व्यवसायीको वास्तविक अवस्था बुझ्दा महासंघले सरकारलाई दिने सुझावमा स्थानीय समस्या र अनुभवलाई समेट्न सहज हुने उनको भनाइ छ । सभापति श्रेष्ठले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको विराटबजार डटकम, बिजनेस क्लिनिक, इन्डष्ट्रिज एक्सपिरियन्स जोन तथा बिजनेस इन्क्युबेसन सेन्टर जस्ता पहलको प्रशंसा गरे ।

यस्ता प्लेटफर्मले उद्योगको प्रवर्द्धन, नवप्रवर्तनको प्रदर्शन तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उनले उद्योग संगठन मोरङका यस्ता गतिविधि अन्य उद्योग वाणिज्य संघका लागि समेत उदाहरणीय हुने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग-व्यवसाय क्षेत्रले कमजोर बजार माग, घट्दो लगानी, व्यावसायिक मनोबलमा आएको कमी तथा पूर्वाधार लगायतका चुनौती सामना गरिरहेको बताए । उद्योगीको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा उत्पादन लागत घटाउने गरी नीतिगत सुधार आवश्यक रहेकोमा उनले जोड दिए ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साहले उद्योग क्षेत्रको पुनरुत्थान, नीतिगत स्थायित्व, औद्योगिक पूर्वाधार तथा निर्यात प्रवर्द्धनका विषयलाई महासंघले प्राथमिकताका साथ अघि बढाउनु पर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!