चितवन, ११ कात्तिक । स्थानीय तहको निर्वाचनका बेला चर्चित बनेको चितवनको भरतपुर महानगरपालिका प्रतिनिधिसभा निर्वाचनमा पनि उत्तिकै चर्चित बनेको छ।

Advertisement

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा गरेपछि भरतपुर चर्चित बन्नपुगेको हो।

चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाको १९ वटा वडा र माडी नगरपालिका पर्छ। माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेर नेतृ रेणु दाहाललाई स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको नगरप्रमुख बनाएको थियो। दाहाल प्रचण्डकी छोरी हुन्। छोरीले नगर प्रमुखमा जित्दा माओवादी केन्द्रको तालमेल कांग्रेससँग थियो।

अहिले एमालेसँगको तालमेलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन्। विगतमा मतगणना विवाद तथा मतपत्र च्यातिएर भरतपुर १९ मा पुन मतदान भएको यहाँ यसपालि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेदवारीले देशकै ध्यान तानेको छ। चितवनबाट प्रचण्डलाई चुनाव जित्न कत्तिको सहज छ ?

अहिले आम कौतुहलताको विषय बनेको छ। मुख्यतयाः भरतपुर महानगरका २९ वडामध्ये अधिकांश वडा (१९ वडा) चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा परेको छ।

यसमा माडी नगरपालिका पनि जोडिएको छ। माडी नगरपालिका प्रमुखमा भने माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका थिए। नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्का आइतबारसम्ममा उम्मेदवार टुंगो लाग्ने भन्दै जिल्लामा बाम गठबन्धन नै अगाडि रहेको बताउँछन्।

उम्मेदवारी दिने समय नजिकिंदै गर्दा स्थानीय तहको निर्वाचनमा दलहरुले पाएको मतको आधारमा दलहरुले मतको विश्लेषण गर्न थालेका छन्।

स्थानीय तहको मतपरिणामको आधारमा हेर्दा प्रचण्डले उम्मेदवारी दिने घोषणा गरेको चितवन क्षेत्र नम्बर ३ मा माओवादी तेस्रो दलमै सीमित छ। तर उसकोमा एमालेको मत जोड्दा वामगठबन्धन अगाडि छ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ विगतको मतको आधारमा केही भन्न नसकिने बताउँछन्। स्थानीय तहको निर्वाचनका बेला माओवादी केन्द्रबाट सबैभन्दा बढी पीडा बेहोरेका एमालेका महानगर प्रमुखका उम्मेदवार देवी ज्ञवालीले पार्टीको निर्णय अनुसार दाहाललाई जिताउन चुनावी प्रचार अभियानमा लाग्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका चितवन जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई बाम गठबन्धनको जित निश्चत रहेको बताउँछन्। यस्तो छ चितवन क्षेत्र नम्बर ३ को मत परिणाम स्थानीय तहको निर्वाचनमा भरतपुर महानगर प्रमुखमा तालमेल भएको भए पनि हरेक पार्टीले वडाध्यक्ष भने एक्लाएक्लै उम्मेदवारी दिएका थिए।

त्यसैले यहाँ वडाध्यक्षले ल्याएको मतको आधारमा चुनावी विष्लेषण गरिएको छ। उक्त मतपरिणाम अनुसार बाम गठबन्धन ७ हजार ३६५ मतले अगाडि देखिन्छ। स्थानीय तहको निर्वाचनमा  भरतपुर महानगरको १९ वडामा नेपाली कांग्रेसले २३ हजार ४८७ मत ल्याएको छ। माडी नगरपालिकामा कांग्रेसले ल्याएको ३ हजार ४३६ मत जोड्दा कांग्रेसको मत २६ हजार ९२३ हुन जान्छ।

राप्रपाले कांग्रेससँग तालमेल गरेमा उसले माडी नगरपालिकामा ल्याएको ८ हजार ३१० मत पनि थपिन्छ। यस अवस्थामा कांग्रेस राप्रपाको संयुक्त मत ३५ हजार २३३ हुन्छ।

भरतपुर महागरपालिकाको १९ वडामा काग्रेसको मत : २३,४८७ माडी नगरपालिकामा कांग्रेसको मत : ३,४३६ माडी नगरपालिकामा राप्रपाको मत : ८,३१० कांग्रेस र राप्रपाको जम्मा मत : ३५,२३३ भरतपुर महानगरको १९ वटा वडामा नेकपा एमालेले २० हजार २५६ मत प्राप्त गरेको छ।

उसले माडी नगरपालिकामा प्राप्त गरेको मत ४ हजार २३८ हो। यो दुई क्षेत्रको मत जोड्दा चितवन क्षेत्र नम्बर ३ मा एमालेको मत २४ हजार ५९८ हुन्छ। माओवादी केन्द्रले भरतपुर महानगरको १९ वटा वडामा १४ हजार ३३८ मत ल्याएको छ।

माडी नगरपालिकामा माओवादीको मत ३ हजार ७६६ हो। यो दुई ठाउँको मत जोड्दा माओवादी केन्द्रको कुल मत १८ हजार १०४ हुन आउँछ। भरतपुर महानगरको १९ वडामा एमालेको मत : २०,२५६ माडी नगरपालिकामा एमालेको मत : ४,२३८ भरतपुर महानगरको १९ वडामा माओवादी केन्द्रको मत : १४,३३८ माडी नगरपालिकामा माओवादी केन्द्रको मत : ३,७६६ वाम गठबन्धनको जम्मा मत : ४२,५९८ कांग्रेस र राप्रपाको भन्दा वाम गठबन्धनको मत : ७, ३६५ बढी   कांग्रेसका चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठ स्थानीय तहमा कांग्रेस-माओवादी केन्द्र गठबन्धनको मत ७० हजार आउने आँकलन गरिए पनि नआएको उदाहरण दिँदै अहिले वाम गठबन्धनमा पनि त्यस्तै समस्या हुन सक्ने बताउँछन्।

नेकपा माओवादी केन्द्रका चितवन जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई जिल्लाको क्षेत्र नम्बर १ मा एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने निश्चित भएको छ।

तर क्षेत्र नम्बर २ को विषयमा एमाले नेता कृष्णभक्त पोखरेल या माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलमध्ये को उम्मेदवार हुने भन्ने तय भइनसकेको उनले बताए।

भट्टराईले अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नम्बर ३ मा ८ देखि १० हजार मतले जित्ने दावी गरे। प्रचण्डसामु यस्ता छन् चुनौती वाम गठबन्धनको पक्षमा सात हजार बढी मत देखिंदा चितवन क्षेत्र नम्बर ३ मा के अब प्रचण्ड सुरक्षित छन् त ?

राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्तिको जित होला या हार भन्ने आम प्रश्न स्वभाविक नै हो। तर उनका सामु चुनौतीका चाङ यथावत छ।

चितवनको क्षेत्र नम्बर २ मा भावनात्मक एकता सहित एमाले नेता कृष्णभक्त पोखरेललाई उठाउन सक्नुपर्ने एमाले कार्यकर्ताहरु बताउँछन्। सो क्षेत्रको प्रतिनिधिसभा निर्वाचनमा एमालेका हालका सांसद (साविक क्षेत्र नम्बर ३ का विजयी) कृष्णभक्त पोखरेललाई एमालेले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेर पठाएको छ।

सोही क्षेत्रमा माओवादी केन्द्रले विगतको संविधानसभामा विजयी बनेका रामबहादुर थापा, बादललाई उठाउन जोडतोड गरिरहेको छ। सोही विवादका कारण उम्मेदवारको टुंगो लगाउन गठबन्धनलाई सकस परिरहेको छ।

पछिल्लो चरणमा पोखरेललाई प्रदेशमा दिएर बादललाई प्रतिनिधिसभामा दिने भन्ने चर्चा पनि छ। तर यो क्षेत्र मिलाउन नसक्दा पनि दाहाललाई सकस पर्ने देखिन्छ।

हुन त चितवनको साविक क्षेत्र नम्बर ४ (हाल क्षेत्र नम्बर ३ मा पर्छ) नेपाली कांग्रेसको पकड क्षेत्र हो। स्थानीय तहमा एमाले र माओवादी केन्द्रबीच देखिएको तिक्तता अझै हट्न नसकेकाले पनि केही समस्याहरु देखिन्छन्।

अर्को चुनौती बाँदरमुढे घटना हो। यद्यपी बाँदरमुढे घटनाको विषयमा प्रचण्डले पटकपटक माफी पनि मागिसकेका छन्। तर राहत प्याकेजमा माओवादीले अहिलेसम्म कुनै काम गर्न नसकेको आरोप लाग्दै आएको छ। यसले पनि चुनावी परिणामलाई प्रभाव पार्न सक्ने आंकलन यहाँका बुद्धिजीविहरुको छ।-थाहाखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!