
सङ्खुवासभा । सङ्खुवासभामा खाना पकाउने एलपी ग्यासको खरिद गर्न उपभोक्ताले अनिवार्य परिचयपत्र बोक्नुपर्ने भएको छ । पछिल्लो समय देखिएको ग्यास अभाव, मूल्यमा मनपरी र वितरणमा देखिएका समस्यालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।
अब बिक्रेताले ग्राहकलाई ग्यास बिक्री गर्दा उनीहरूको नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने कागजातको प्रतिलिपि राख्नुपर्ने भएको छ । यस्तै कसलाई कति सिलिन्डर बिक्री गरियो भन्ने विवरणसमेत अद्यावधिक रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य संघ तथा ग्यास बिक्रेतासहित बसेको बैठकले एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित गर्ने विषयमा विभिन्न निर्णय गरेको हो ।
बैठकले अनुमति प्राप्त अधिकृत बिक्रेताले मात्रै खाना पकाउने एलपी ग्यास बिक्री गर्न पाउने निर्णय गरेको छ । अनधिकृत रूपमा ग्यास बिक्री गर्ने प्रवृत्ति नियन्त्रण गर्नुका साथै आपूर्ति प्रणालीमा देखिनसक्ने अनियमितता रोक्न यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

संगालोखबर 












