संगालोखबर

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई पक्षबीचको हिंसात्मक प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका रविन्द्रकुमार मेहताको शव गृह नगर ल्याइएको छ । आज बिहान १०ः२० बजेतिर हेलिकोप्टर मार्फत रविन्द्रको शव कप्तानगन्ज ल्याइएको हो ।

शवलाई सुरुमा मृतकको घरमा लगेर श्रद्धाञ्जली अर्पण गरिएपछि अहिले गाउँमा शवयात्रा भइरहेको छ । उनको गोली चलेकै स्थानमा अन्त्येष्‍टि गर्ने तयारी भइरहेको र साँझसम्ममा दाहसंस्कार गरिसक्ने स्थानीयले बताएका छन् ।

गत साउन १० गते भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

सरकारले सुनसरीको देवानगन्ज र सिरहामा भएका झडपमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देवानगन्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्र मेहता र सिरहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै पीडित पक्षले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सहिद घोषणा र दोषीलाई कारबाहीको माग गर्दै आफन्तले शव बुझ्न अस्वीकार गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको रविन्द्रको शव ल्याइएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!