
विराटनगर । कोशी प्रदेशमा लागूऔषधको अवैध ओसारपसार र कारोबार तीव्र रूपमा बढेको पाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार वर्षेनी लागूऔषधको कारोबार र ओसार-पसार बढ्दै गएको पाइएको हो ।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार प्रदेशमा गाँजा र ब्राउन सुगर बरामद परिमाणमा ठूलो वृद्धि भएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा १० हजार ४२० केजी गाँजा बरामद भएकोमा २०८१/८२ मा ह्वात्तै बढेर २६ हजार ७०५ केजी पुगेको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा यो परिमाण अझ बढेर २७ हजार ६९३ केजी पुगेको छ ।
त्यस्तै ब्राउन सुगरको ओसारपसारसमेत निरन्तर बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३ केजी ८८९ ग्राम बरामद भएको ब्राउन सुगर २०८१/८२ मा ५ केजी ४८९ ग्राम बरामद भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा तेब्बरले वृद्धि भई १० केजी ३८७ ग्राम ५३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको तथ्याङ्क छ ।
यस्तै चरेस आर्थिक वर्ष २०८२/८३ मा १४५ ग्राम १४० मिलिग्राम बरामद भएकोमा आर्थिक वर्ष २०८१/८२ मा ३ ग्राम ५८८ मिलिग्राम र २०८०/८१ म ८६ ग्राम १८० मिलिग्राम बरामद भएको थियो ।
अफिम आर्थिक वर्ष २०८१/८२ मा १५ ग्राम ५८८ मिलिग्राम बरामद भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । विभिन्न मनोद्वीपक चक्की तथा क्याप्सुलको प्रयोग र अवैध ओसारपसार पनि उच्च रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ७८ हजार ३३८, आर्थिक वर्ष २०८१/८२ मा ६ लाख १५ हजार ७९ र आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ४४ हजार ४५७ वटा मनोद्वीपक चक्की/क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
यद्यपि मनोद्वीपक सुई (एम्पुल) को बरामद संख्यामा भने केही कमी आएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ३८७ एम्पुल सुई बरामद भएकोमा आर्थिक वर्ष २०८१/८२ मा २ हजार ६५४ र आर्थिक वर्ष २०८२/८३ मा २ हजार ४९ एम्पुल बरामद भएको प्रहरीको तथ्याङ्क छ ।
अन्य विभिन्न मनोद्वीपक औषधिहरू आर्थिक वर्ष २०८०/८१ मा २३६, २०८१/८२ मा १०९ र २०८२/८३ मा ४० वटा बरामद भएको प्रहरी तथ्याङ्कले देखाउँछ । खुल्ला सीमानाका र फराकिलो सञ्जालका कारण प्रदेशमा लागूऔषधको अवैध ओसारपसार चुनौतीपूर्ण बन्दै गएको छ ।
मंगलबार पत्रकारसँग अन्तरक्रिया गर्दै कोशी प्रदेशका डीआइजी शेखर खनालले हातहतियार, लागूऔषध नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । यस्तै अवैध कारोबार नियन्त्रण तथा दुर्घटना न्यूनिकरणका लागि भूमिका खेल्ने बताए ।

मोहन ढकाल/संगालोखबर 













