
धनकुटा । धनकुटामा कोदो खेती विस्तारका लागि बारीमा जातीय परीक्षण सुरु गरिएको छ । आधुनिक जीवनशैली र अन्य विभिन्न कारणले लोप हुँदै गएको कोदो खेतीका लागि जातको वैज्ञानिक परीक्षण सुरु गरिएको हो ।
धनकुटा नगरपालिका-८ खम्बेलामा विभिन्न जातका कोदो रोपेर परीक्षण सुरु गरिएको छ । हाईकास परियोजना इसिमोडको सहयोगमा वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार तथा विकास केन्द्रले कोदोको विभिन्न जात रोपेको हो ।
खाम्बेलामा परिक्षण गर्नका लागि ओख्ले, डल्ले, काभ्रे-१, काभ्रे-२, सैलुङ, केएलइ १५८, केएलइ १५९ र केयलइ १५९ र धनकुटाका स्थानीय लुली र मुड्की गरी विभिन्न १० जातको कोदो रोपिएको परियोजनाका संयोजक टुक नारायण अर्यालले जानकारी दिए ।

उनका अनुसार परीक्षणका लागि कोदो ३० ओटा प्लट बनाएर रोपिएको छ । प्लट अनुसार फरक जातको कोदो रोपिएको उनले बताए । कोदोको उत्पादन राम्रो देखिएका जातको वास्तविक उत्पादन, क्षमता र स्थानीय वातावरणसँगको अनुकूलता र किसानको आवश्यकता हेरेर थप खेती बिस्तार गरिने जनाइएको छ ।
परीक्षणबाट स्थानीय हावापानी, उत्पादन र रोगसँग लड्न सक्ने क्षताको आधारमा कोदो खेती बिस्तारमा सहयोग पुग्ने र किसानलाई थप खेती विस्तारमा सहयोग पुग्ने वडाध्यक्ष रसबहादुर आठपहरियाले बताए ।

उत्पादन बढ्दा किसानलाई थप सहयोग पुग्ने उनको भनाइ छ । परीक्षण पश्चात् उत्पादन हेरेर सोही जात लगाउन किसानलाई प्रेरित गरिने जनाइएको छ ।
कोदोको उपभोग बढिरहेको र त्यसको प्रभाव खेतीमा पनि देखिँदै गएकाको अवस्थालाई मध्यनजर गर्दै परीक्षण गरी उपयुक्त जातको छनोट गर्न लागिएको हो ।
कोदो तथा अन्य रैथाने बालीको प्रशोधन तथा बजारीकरणमा सहजीकरण गर्ने धनकुटा नगरपालिका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए । अनुसन्धानबाट छनोट गरिएका जातहरूको प्रवर्द्धन र बजारीकरण तथा स्रोत साधनका लागि सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













