संगालोखबर


विराटनगर । विराटनगर-३ मा अवस्थित विराट स्पोर्ट्स जोनले विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विद्यालयस्तरमा प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता जनाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि २ लाख रुपैयाँ बढी खर्च हुने अनुमान छ । आज पत्रकार सम्मेलन गर्दै आयोजकले पहिलो संस्करणमै प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र उच्चस्तरीय बनाउन आवश्यक तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको विशेष आकर्षणका रूपमा पहिलोपटक ‘फेयर प्ले अवार्ड’ ट्रफी प्रदान गरिने भएको छ । प्रतियोगिताको वेस्ट प्लेयरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा तीन महिनाको शतप्रतिशत छात्रवृत्ति र एक हजार बराबरको भौचर प्रदान गरिने छ ।

त्यस्तै, वेस्ट ब्याट्सम्यानलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्ति र एक हजार बराबरको भौचर तथा वेस्ट बलरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्ति र एक हजार बराबरको भौचर प्रदान गरिने प्रोजेक्ट म्यानेजर राज ढकालले जानकारी दिए ।

आयोजकका अनुसार प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई मेडलसहित क्रिकेट एकेडेमीको भर्ना शुल्कमा ५० प्रतिशत छुट र पाँच सय बराबरको भौचर प्रदान गरिने छ । प्रतियोगिताबाट उत्कृष्ट सम्भावना देखाउने उदयमान खेलाडीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईँले स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा प्रभावकारी काम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

‘विद्यालयस्तरबाट प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई प्रशिक्षण र अवसर उपलब्ध गराउनु हाम्रो मुख्य लक्ष्य हो । क्रीकशल प्रतियोगिता त्यसै अभियानको सुरुवात हो’, उनले भने ।

आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक स्वरूपमा विस्तार गर्दै विराटनगरलाई खेलकुद गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको पनि बजगाईँले बताए । आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन र नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतियोगिता साउन २७ देखि साउन ३१ गते सम्म सञ्चालन हुने कार्यक्रमका संयोजक करण कार्कीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!