
विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य रद्द गर्ने भएको छ ।
आज एक सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीहरूलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो ।
नगरपालिकाले योजनाहरू सम्पन्न गर्नका लागि सहजीकरण गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत निर्माण कार्य पूरा गर्न व्यवसायीहरूले कुनै चासो र प्रयास नगरेको बताएको छ ।
निर्माण व्यवसायीहरूबाट प्राप्त जवाफ चित्तबुझ्दो नभएपछि कार्यपालिका बैठकको निर्णय अनुसार सार्वजनिक सूचना जारी गरिएको नगरपालिकाले स्पष्ट पारेको छ ।
तोकिएको १५ दिनभित्र मनासिब कारणसहित उपस्थित नभएमा खरिद सम्झौताको सर्त, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का अन्त्य गरी नियमानुसार थप कारबाही अघि बढाउने चेतावनी नगरपालिकाले दिएको छ ।
नगरपालिकाको कारबाही प्रक्रियामा परेका आयोजनाहरूमा वडा नम्बर ९ को लामाटोल-भोटेपुल-डाँडा टोल-आम्बारी सडक निर्माण रहेको छ, जसको ठेक्का एच एन्ड सी, सिद्धिदात्री, सुम्निमा जेभी कमल-३ झापाले लिएको थियो ।
यसैगरी हिङ कन्स्ट्रक्सन एन्ड सप्लायर्स कम्पनी प्रालि रतुवामाई-१० मोरङले जिम्मा पाएका वडा नम्बर २, ४ र ९ को फ्याफुल्ला चोकदेखि वन अफिस जाने सडक, संयुक्तमार्ग तथा आम्बारी चक्रेटोल-डाँडा टोल हुँदै छिन्ताङ्गे टोलसम्मको सडक कालोपत्रे र वडा नम्बर ९ को जोरबाटो रानाटोल र महाराजथान सडक कालोपत्रे योजना पनि अलपत्र परेका छन् ।
सिङ्घा निर्माण सेवा झापाको ठेक्कामा रहेको वडा नम्बर ४ र ७ को भद्रमारी मार्ग सडक तथा ड्रेन निर्माण, न्यु कञ्चनजङ्घा कन्स्ट्रक्सन उर्लाबारी मोरङले जिम्मा लिएको वडा नम्बर १ को अविरल चोकदेखि पश्चिम खयरबट्टी होलिमा कलभर्ट र नमुना सुकुमबासी बस्ती झाँर्सादी होलिमा कलभर्ट निर्माण कार्य पनि अधुरै छ ।
डायमोनिक कन्स्ट्रक्सन महालक्ष्मी-२ धनकुटाले ठेक्का पाएको वडा नम्बर १, ४, ७ र ९ को सडक मर्मत कार्य समेत तोकिएको समयमा पूरा नभएपछि नगरपालिकाले ठेक्का तोड्ने प्रक्रिया थालेको जनाएको छ ।

संगालोखबर 













