
तेह्रथुम । खाना पकाउने ग्यासको अभाव भएको जनगुनासो बढेपछि तेह्रथुममा ग्यास डिलरहरूमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय लगायतको संयुक्त टोलीले म्याङलुङ बजारमा रहेका ग्यास डिलरहरूको अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा डिलरहरूमा रहेको ग्यासको मौज्दात, बिक्री-वितरणको अवस्था तथा उपभोक्ताले ग्यास पाउन भइरहेको सहजता र असहजताबारे जानकारी लिइएको थियो ।
अनुगमनमा प्रिमा ग्यास डिलरमा करिब ६० सिलिन्डर, रिजाल ग्यास डिलरमा करिब २२ सिलिन्डर र कोशी ग्यास डिलरमा २ वटा सिलिन्डर मौज्दात रहेको पाइएको छ ।
अनुगमनका क्रममा तत्काल कुनै किसिमको कैफियत वा अनियमितता फेला नपरेको र उपभोक्ताले ग्यास प्राप्त गर्न ठूलो हैरानी ब्यहोर्नुपरेको अवस्था पनि नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बजारमा ग्यास नपाइने भन्ने हल्लाका कारण उपभोक्ता आत्तिने र आवश्यकताभन्दा बढी ग्यास मौज्दात राख्ने प्रवृत्तिले केही डिलरमा ग्यासको मौज्दात कम देखिएको पाइएको हो ।
अनुगमन टोलीले ग्यास डिलर सञ्चालकहरूलाई प्रचलित मापदण्ड तथा कानुनी व्यवस्थाअनुसार पारदर्शी र व्यवस्थित रूपमा ग्यास बिक्री-वितरण गर्न निर्देशन दिएको छ ।

संगालोखबर 













