
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत साउन १० गते भएको घटनामा गाेली लागेर मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ ।
सहमति अनुसार सरकारले मृतक मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएकाे हाे । यस्तै साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।
मृतक रवीन्द्रकुमारलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने, मृतकको परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन पहल गर्ने, देवानगन्ज–३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा तत्काल छानबिन सुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुन बमोजिम कार्यान्वयन गर्ने, मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सुनसरी पुर्याएर दाहसंस्कार गर्ने व्यवस्था गर्ने र घटनामा ज्यान गुमाएका तीनै जनाको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी ‘स्मृति पार्क’ निर्माण गर्ने सरकार र पीडित परिवारबीच भएको सहमति भएकाे हाे ।
सरकारले घटनाको गम्भीरतालाई ध्यान दिँदै सबै मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएपछि पीडित पक्ष शव बुझ्न तयार भएको छ ।

संगालोखबर 













