
विराटनगर । एलपी ग्यासको वितरण तथा व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमन र कारबाही प्रक्रिया तीव्र पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बजार अनुगमनका क्रममा कैफियत भेटिएका ट्रेडर्स तथा ग्यास उद्योगलाई कारबाही गरिएको हो।
प्रशासनका अनुसार साउन १७ गते गरिएको बजार अनुगमनका क्रममा जाँचबुझ तथा निरीक्षण कार्यमा सहयोग नगरेको भन्दै विराटनगर महानगरपालिका-७ स्थित श्री कृष्ण ट्रेडर्सलाई ११ हजार जरिवाना गरिएको छ।
यसैगरी साउन २३ गते बूढीगङ्गा गाउँपालिका-४ मा रहेको कोशी ग्याँस उद्योग प्रा.लि.मा अनुगमन गर्दा अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग उक्त दिन सञ्चालनमा नरहेको भेटिएकाले प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रशासनले जनाएकाे छ ।
अनुगमनका क्रममा कोशी ग्यास उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरहरूमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र तौल पाइएकाले उद्योगलाई तत्काल दुई लाख ९० हजार जरिवाना गरिएकाे काेइरालाले जानकारी दिए ।
बाँकी ६३ वटा सिलिन्डरको औषत तौल १४.१८५ केजी मात्र पाइएकाले थप कानुनी कारबाही अघि बढाइएको छ। यस्तै सोही उद्योगमा रहेका खाली सिलिन्डरहरूको तौल जाँच गर्दा १० वटामध्ये ९ वटा सिलिन्डरमा तोकिएको तौलभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौल पाइएको थियो ।
खाली सिलिन्डरको तौल बढी हुनुको अर्थ उपभोक्तालाई भरिएको सिलिन्डर बेच्दा कम ग्यास परिरहेको देखिने भएकाले उक्त उद्योगबाट उत्पादन भई वितरण हुने अधिकांश सिलिन्डरमा कम तौल ग्यास राखेर बिक्री वितरण गरिएको पुष्टि भएको छ ।
सो कैफियतका आधारमा उद्योगविरुद्ध कानुन बमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

संगालोखबर 













