
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्ज घटनाका मृतकहरूलाई तत्काल सहिद घोषणा गर्न विभिन्न राजनीतिक दल तथा स्थानीय प्रतिनिधिहरूले सरकारसँग माग गरेका छन् । आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पीडित परिवारसँग गरिएको लिखित सम्झौता कार्यान्वयनमा ढिलाइ गरिए गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका हुन् ।
सरकारले देवानगन्ज घटनाका पीडित परिवारसँग मृतकलाई सहिद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने तथा घटनाको निष्पक्ष छानबिन सात दिनभित्र गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको थियो ।
तर सम्झौता भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्बाट कुनै निर्णय नहुनु सरकारको गैरजिम्मेवारीपन र संवेदनहीनता भएको विज्ञप्तिमा उल्लेख छ । काठमाडौंमा उपचाररत रवीन्द्र मेहताको निधन भएको हप्ता दिन बितिसक्दा पनि शव अन्त्येष्टि हुन नसकेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सरकारको ढिलासुस्तीले जनआक्रोश बढाएको जनाइएको छ ।
विज्ञप्तिमा देवानगन्ज घटनाका मृतकहरू ओमप्रकाश मेहता, जयप्रकाश मेहता, सिरहा गोलबजार घटनाका मृतक गणेश यादव र उपचारका क्रममा निधन भएका रवीन्द्र मेहतालाई तत्काल सहिद घोषणा गरी क्षतिपूर्ति, रोजगारी र राहत उपलब्ध गराउन आग्रह गरिएको छ । सरकारले सम्झौता कार्यान्वयनमा आलटाल गरेमा सशक्त र शान्तिपूर्ण लोकतान्त्रिक सङ्घर्ष अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
उक्त विज्ञप्तिमा जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अन्सारी, देवानगन्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र देवानगन्ज-६ का वडाध्यक्ष हरिनन्दन मेहताले संयुक्त हस्ताक्षर गरेका छन् ।


संगालोखबर 













