
विराटनगर । मोरङको कटहरी-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले सेवाग्राहीहरूबाट सङ्कलन गर्दै आएको ‘स्वास्थ्य समता शुल्क’ फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल सरकारको आर्थिक ऐन २०८३ तथा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार स्वास्थ्य सेवा शुल्कमा थप गरी असुल गरिँदै आएको उक्त शुल्क पूर्ण रूपमा खारेज भएपछि अस्पतालले रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको निर्णय र निर्देशनको पूर्ण पालना गर्दै अस्पताल प्रशासनले सूचना जारी गरी साउन २९ गतेसम्म रकम दाबी गर्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ ।
अस्पतालमा उपचारका क्रममा ‘स्वास्थ्य समता शुल्क’ शीर्षकमा रकम भुक्तानी गरेका सम्पूर्ण सेवाग्राहीहरूले आफूले भुक्तानी गरेको मूल बिल र पहिचान खुल्ने आवश्यक प्रमाणसहित कार्यालय समयभित्र अस्पतालको बिलिङ शाखामा उपस्थित भई रकम फिर्ता लिन सक्नेछन् ।
तोकिएको अन्तिम समयसीमा भित्र रकम दाबी गर्न नआएमा बाँकी रकमको हकमा नेपाल सरकारको प्रचलित कानुन तथा राजस्वसम्बन्धी नीति-नियम बमोजिम आवश्यक कानुनी एवं प्रशासनिक प्रक्रिया अगाडि बढाइने अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

संगालोखबर 













