संगालोखबर


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै कलेजले विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

कलेजले सन् २०२५ मा बीई सिभिलतर्फ भर्ना भएका ८०, कम्प्युटर इन्जिनियरिङतर्फका ८० तथा इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ३४ जना नयाँ विद्यार्थीलाई स्वागत गरेको हो ।

यस्तै इन्जिनियरिङ अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बिदाइ गरिएको कलेजले जनाएको छ । सन् २०२० मा भर्ना भएर अध्ययन पूरा गरेका बीई सिभिलतर्फका ७५, कम्प्युटर इन्जिनियरिङका ५३, इलेक्ट्रिकल इन्जिनियरिङतर्फका २४ तथा इसिईका ५ जना विद्यार्थीलाई कलेजले बिदाइ गरेको हो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा. रमेशबाबु काफ्लेले प्रविधिमा आएको रूपान्तरणसँगै विद्यार्थीहरूले आफ्नो अध्ययनलाई पनि आधुनिक बनाउनुपर्नेमा जोड दिए । उनले जुनसुकै क्षेत्रमा पुगेपनि पूर्वाञ्चल विश्वविद्यालयमा अध्ययन गरेको भनेर गर्व गर्नसक्ने अवस्था बनाउनुपर्ने बताए ।

पुसोईमा स्नातकतर्फ सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन तथा इलेक्ट्रिकल इन्जिनियरिङ अध्यापन हुँदै आएको छ । त्यसैगरी स्नातकोत्तरतर्फ कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्फर्मेसन सिस्टम इन्जिनियरिङ, इन्जिनियरिङ म्यानेजमेन्ट, इलेक्ट्रिकल पावर इन्जिनियरिङ तथा एमई इन अर्थक्वेक इन्जिनियरिङलगायत विषयमा अध्यापन हुने गरेको छ ।

पुसोईका निर्देशक प्रा.डा. धर्मेन्द्रकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डिनलगायत कलेजका शिक्षक, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!