
सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण गरेका छन् । आज निरीक्षणमा पुगेका खनालले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् ।
उनले सवारी दुर्घटना न्यूनीकरणको लागी विशेष अभियान संचालन गर्न तथा दैनिकरूपमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाई तीव्र गति, ओभरलोड र मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध कडाइका साथ ट्राफिक कारबाही गर्न निर्देशन दिए ।
नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही गर्न राडार गन, सीसी टीभी, मापसे र लापसे जाँचकिट जस्ता आधुनिक प्रविधिको सही र अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न लागिपर्नुपर्ने उनले बताए ।
लामो दूरीका यात्रुवाहक सवारी साधनमा दुई जना चालक अनिवार्य भए/नभएको, भाडा दर सही भए/नभएको, आरक्षण सिटहरूको व्यवस्था र टाइम कार्ड लागू भए अनुसार सवारी साधन सञ्चालन भए/नभएको कडाइका साथ चेकजाँच गर्न उनले निर्देशन दिए ।
चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिई सेवाग्राहीप्रति शिष्ट र मर्यादित व्यवहारमा प्रस्तुत भएर सडक सु-शासनको महसुस हुने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत उनले निर्देशन दिएका छन् ।
सवारी दुर्घटना न्यूनीकरण गरी, सुरक्षित सडक बनाउन सवारी चालक, सहचालक, पैदलयात्री र विद्यार्थीहरूलाई समेत लक्षित गरी नियमित रूपमा ट्राफिक प्रशिक्षण दिन उनले निर्देशन दिए ।
कार्यसम्पादन सम्झौता र कार्यसम्पादन अभिलेख ढाँचाको लक्ष्य हासिल हुने गरी दैनिकरूपमा ट्राफिक व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारीरूपमा कार्यान्वयन गर्न उनले निर्देशन दिएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दीपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनको अवस्थाको बारेमा अवगत गराएका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू, मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृतका साथै ट्राफिक प्रहरी कर्मचारीहरू सहभागि थिए ।

संगालोखबर 













