
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान तथा वर्गीकरण थालेको छ । प्रशासनले सूचना जारी गर्दै पहिचान तथा वर्गीकरणका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
गत २०८२ साल भदौ २३ र २४ गते भएको उक्त प्रदर्शनका क्रममा घाइते भएकाहरूको चोटपटकको गम्भीरता अनुसार वर्गीकरण गर्ने, उपचारमा प्राथमिकता निर्धारण गर्ने तथा राहत र प्रतिवेदन प्रणालीलाई एकीकृत गर्ने उद्देश्यले सूचना जारी गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक जिल्लास्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन भएको छ ।
सोही समितिमार्फत घाइतेहरूको यकिन पहिचान र विवरण संकलन गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनद्वारा सार्वजनिक सूचना अनुसार आन्दोलनका क्रममा घाइते भई घाइते परिचयपत्र प्राप्त गरिसकेका तथा परिचयपत्र प्राप्त गर्न बाँकी रहेका सबै घाइते व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउन भनिएको छ ।
सम्पर्कमा जाँदा घाइतेहरूले साथमा नेपाली नागरिकता वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, घाइते भई उपचार गराएको अस्पतालको कागजात वा डिस्चार्ज समरी र सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य रूपमा लैजानुपर्नेछ ।
यसका साथै कार्यविधिको अनुसूची १ मा उल्लेख भए बमोजिम चोटपटकको प्रकृति र घाइतेको अवस्था खुल्ने थप विवरण वा कागजातहरू समेत पेस गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नो विवरण अद्यावधिक गर्न प्रशासनले सबै सम्बन्धित घाइतेहरूलाई सूचित गरेको हो ।

संगालोखबर 













