
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुने छ ।
२९ गतेसम्म चल्ने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।
जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिँदैछन् । यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् ।
यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय बोर्डले गरेको छ । परीक्षा सकिएको एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो ।

संगालोखबर 



















