संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी वर्षदेखि असन्तुलित बजेट वितरणलाई रोकेर नतिजामुखी बजेट निर्माण गर्ने बताएका छन् । प्रदेश योजना आयोगले आज विराटनगरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले विगतमा गर्दै गएको असन्तुलित अभ्यासलाई यसपटक गम्भीर रूपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने बजेट बनाउने प्रतिबद्धता व्यक्त गरे । नयाँ परिवेश अनुसार सिक्दै र आफूहरूलाई पनि परिवर्तित गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

Advertisement

मुख्यमन्त्री कार्कीले योजना बैँकलाई व्यवस्थित ढंगले सञ्चालन गरी यसपटकको बजेटमा योजना बैंकमा आएका योजनालाई प्राथमिकता दिने बताए । ‘प्रदेश संरचनाले कुनै काम गरेन भन्ने छ र हामीले धेरै काम गरेका छौं’, उनले भने, ‘ती कामहरूलाई पनि देखिने गरि यसपटक अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।’

गत वर्षको जस्तो बजेट निर्माणमा भएका कमजोरीहरू यसपटक नदोहोरिने र जिल्ला तहबाट नै बजेट इन्ट्री गर्ने प्रणाली विकास गरिएको उनले बताए । मन्त्री र सचिव पनि फेरिरहने परिपाटीले गर्दा विकासको गति अघि बढ्न नसकेको चर्चा गर्दै मन्त्री कार्कीले सबै कुराहरूलाई समीक्षा गरेर नयाँ ढंगले अघि बढ्न आग्रह गरे ।

कोशी प्रदेश योजना आयोगले आज आयोजना बैँक सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण गरेको थियो । कोशी प्रदेश सभा सदस्यहरूलाई राखेर योजना छनोट र योजना बैँकमा योजना इन्ट्री गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो ।

सोही कार्यक्रममा प्रदेश सरकारले प्रदेशभित्र रहेका विभिन्न विश्वविद्यालय र क्याम्पसहरूसँग प्रदेशको समग्र विकास सेवा प्रवाहसँग सम्बन्धित विषय साथै अनुसन्धान खोज र सम्भाव्यता अध्ययनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

परम्परागत रूपमा घरपरिवारमा उत्पादन गरिँदै आएको घरेलु मदिरा रक्सीको उत्पादन गुणस्तर र परीक्षण एवं ब्रान्डिङ विषयका लागि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता गरिएको छ ।

प्रदेश योजना आयोग मार्फत यो सम्झौता गरिएको हो । त्यस्तै त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पस विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय कोशी प्रदेश मनमोहन प्राविधिक विश्वविद्यालयसँग पनि विभिन्न विषयमा सम्झौता गरिएको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले यो सम्झौता र आयोजना बैँकको कार्यान्वयनले प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वैशाख ५ गतेभित्र कोशी प्रदेशमा योजना बैँकमा आयोजना प्रविष्ट गर्ने तयारी रहेको जानकारी दिए ।

कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले प्रदेश सरकारले आयोजना बैँकलाई प्राथमिकता दिएर काम गर्ने बताए । कार्यक्रमको अध्यक्षता कोशी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश योजना आयोगका अध्यक्ष हिक्मत कुमार कार्कीले गरेका थिए ।

कार्यक्रममा प्रदेश सभामुख, विभिन्न मन्त्रीहरू, प्रदेश योजना आयोगका पदाधिकारी, प्रमुख सचिव, सचिवहरू, मुख्यमन्त्रीका सल्लाहकार, पत्रकार तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!