
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ मा १३ वर्षीया नाबालिकामाथि भएको निर्घात कुटपिट घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
चैत १२ गते पुनर्वास क्षेत्रको बाइसबिघे जंगलमा नाबालिकामाथि कुटपिट गरिएको भिडियो बाहिरिएको थियो । भिडियो सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो ।
सो क्रममा बराहक्षेत्र-२ नहर चोकका २१ वर्षीय सुदिन राई, २० वर्षीय निशान राई र एक १७ वर्षीय नाबालकलाई क्रमशः चैत १३, १४ र १५ गते पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पक्राउ परेका तीनै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउन अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















