
धनकुटा । धनकुटामा सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुख सुरेश थपलियासहितका कर्मचारी र जग्गाधनी मिलेर सरकारी सम्पत्ति हिनामिना गरेको ठहर गर्दै अख्तियारले आइतबार आरोपपत्र दर्ता गरेको हो ।
अख्तियारले तत्कालीन मालपोत प्रमुख थपलिया, शाखा अधिकृत टंकप्रसाद दुवाडी, नापी कार्यालयका तत्कालीन सर्वेक्षक राजेन्द्रप्रसाद यादव र तत्कालीन तांखुवा गाउँविकास समिति सचिव भक्तबहादुर भट्टराईविरुद्ध आरोपपत्र दायर गरेको छ ।
यस्तै मालपोत कार्यालय धनकुटाका तत्कालीन सुब्बा छविलाल फुयाँल, छुट जग्गा दर्ता गर्ने जग्गाधनी माधबहादुर भट्टराईविरुद्ध कैद र बिगो बमोजिमको जरिवाना माग गर्दै आरोपपत्र दायर भएको हो ।
उनीहरूले धनकुटाको साविक तांखुवा-९ स्थित कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ को सरकारी जग्गा २०६६ मंसिर २१ गते माधबहादुर भट्टराईको नाममा दर्ता गराएको अख्तियारको दाबी छ ।
आयोगले तत्कालीन प्रमुख थपलिया, अधिकृत दुवाडी, सर्वेक्षक यादव र नायब सुब्बा छविलाल फुयाँलविरुद्ध जनही ६७ लाख ६८ हजार रुपैयाँ बिगो र कैद सजाय माग गरेको छ ।
यस्तै तत्कालीन गाविस सचिव भक्तबहादुर भट्टराई र जग्गाधनी माधबहादुर भट्टराईविरुद्ध भने ६७ लाख ६८ हजारमा थप १० लाख रुपैयाँ थप गरी जनही ७७ लाख ६८ हजार रुपैयाँ बिगो र कैद सजायको माग गरिएको छ ।
यस प्रकरणमा जग्गा हाल आफ्नो नाममा राखेका अन्य १० जनालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । खगेन्द्रबहादुर थापा, हिमादेवी बस्नेत, कुमारी मगर, मित्रबहादुर मगर, अम्बरबहादुर मगर, पदमबहादुर सिंजाली, निर्मला घिमिरे, इन्द्रबहादुर मगर र स्व. पूर्णबहादुर थापाको हक सकार गर्ने राजेन्द्र थापाविरुद्ध जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

संगालोखबर 



















