
काठमाडौं । नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले विरोधपत्र बुझाउन लागेको हो ।
पार्टीले ओलीको तत्काल रिहाइको माग गर्दै राजनीतिक र कानुनी दुवै मोर्चाबाट दबाब सिर्जना गर्ने रणनीति लिएको छ । आज मध्याह्न १२ बजे देशभर प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाइनेछ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई शनिबार बिहान नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई जेनजी आन्दोलनको क्रममा दमन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । दुवैलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी छ ।
एमालेले ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । पार्टीले नेताहरूमाथि दमन गरेर राजनीतिक लाभ लिन खोजेको आरोप सरकारलाई लगाएको छ । एमाले नेताहरूले यस घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको आक्रमण भन्दै सडक र संसद दुवै ठाउँबाट सशक्त प्रतिवाद गरिने चेतावनी दिएका छन् ।

संगालोखबर 



















