
विराटनगर । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा-आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म आजकै दिन भएको धार्मिक विश्वास छ ।
धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी पर्वले मर्यादित, अनुशासित र न्यायपूर्ण शासनको सन्देश दिन्छ । रामनवमीका दिन व्रत बस्ने, पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गर्ने, रामगीता तथा विभिन्न रामायण-वाल्मीकीय, तुलसीकृत र भानुभक्तीयको पाठ गर्ने परम्परा छ ।
रातभरि भजन-कीर्तन गर्दै भगवान् रामको आराधना गरिन्छ । प्राचीन कालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँका रूपमा मनाइने गरिन्थ्यो, तर अत्यधिक गर्मीका कारण पछि असोज महिनामा दसैँ मनाउने चलन शुरु भएको भनाइ छ ।
रामनवमी पर्व केवल धार्मिक आस्था मात्र नभई आदर्श जीवन, अनुशासन र न्यायपूर्ण समाज निर्माणको प्रेरणा दिने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ । रामनवमीको दिन आज देशभर सार्वजनिक बिदा छ ।

संगालोखबर 



















