
विराटनगर । विराटनगर-१४ जतुवामा ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएकी भनिएकी महिलाले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएको खुलेको छ । आज बिहान करिब १० बजेतिर ४२ वर्षीया निर्मला खत्रीले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको खुलेको हो ।
आगो निभाउने क्रममा छोरा १९ वर्षीय धीरज पनि घाइते भएका छन् । निर्मलाको शरीरको करिब १८ प्रतिशत भाग जलेको छ भने छोरा धीरजको करिब ५ प्रतिशत शरीरको भाग जलेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । अस्पतालका अनुसार दुवै घाइतेको अवस्था सामान्य छ ।
सुरुमा घाइतेहरूले खाना पकाउने क्रममा घरभित्रै ग्यास सिलिन्डर विस्फोट भएको भनेर प्रहरीलाई बताएका थिए । तर घटनास्थलमा पुगेको प्रहरीले विस्फोटको कुनै प्रमाण फेला पार्न सकेन । विस्फोटको कुनै प्रमाण फेला नपरेपछि सोधपुछ गर्दा पेट्रोल खन्याएर शरीरमा आगो लगाएको खुलेको डीएसपी लामिछानेले जानकारी दिए ।
‘सुरुमा सिलिन्डर विस्फोट भएको भनेर जानकारी प्राप्त भएको थियो’, उनले भने, ‘तर घटनास्थलमा पुगेर अनुसन्धान गर्दा विस्फोट भएको पाइएन । पारिवारिक विवादमा पेट्रोल छर्किएर शरीरमा आगो लगाएको खुलेको छ ।’

संगालोखबर 


















